Logo

‘डेल्टा’ भाइरसपछि ‘डेल्टा प्लस’ भाइरसको त्रास



काठमाडौं
कोरोना भाइरसको अत्यन्तै संक्रामक डेल्टा भेरिएन्टसँग जोडिएको कोभिड प्रकोपबीच सिड्नीमा संक्रमितहरूको संख्या १२८ पुगेको छ।

अस्ट्रेलियाका अन्य भागहरूमा पनि संक्रमण पुष्टि हुने क्रम जारी छ।

उत्तरी क्षेत्र क्रिन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ।

अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौंपछि पहिलोपटक कोरोना संक्रमण देखिएको हो।

अस्ट्रेलियाका विभिन्न राज्यहरूले संक्रमण फैलिन नदिन प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ भने नाकासमेत बन्द गरेका छन्।

कोभिड संक्रमणको बढ्दो घटनाका कारण सिडनीका विभिन्न सहरहरूमा लकडाउन गरिएको छ।
भन्डै ५० लाख मानिस बस्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार केही साताअघिसम्म नेपाल र भारतलाई हैरान बनाएको डेल्टा भेरिएन्ट अस्ट्रेलियालगायत ८५ मुलुकमा देखिएको छ। र, खोप नलगाएका व्यक्तिहरूमा छिटो फैलिइरहेको छ।

लण्डल स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका भाइरोजोलिस्ट डा.एनिलिस विलडर स्मिथका अनुसार डेल्टा भाइरस निकै संक्रामक देखिएको छ। खोप नलगाएका र पूर्ण रूपमा खोप नलगाएका व्यक्तिहरूमा यसले छिट्टै संक्रमण फैलाउनसक्ने उनले बताएका छन्।

नेपाल र भारतमा हाल उक्त भाइरसको संक्रमण कम हुन थालेको छ। तर, अन्य देशहरूमा आक्रान्त मचाएको छ।
डेल्टा प्लस भाइरसको त्रास कोभिड–१९ नामले चिनिने ‘सार्स कोभिड–२’ भाइरस आफैंलाई म्युटेन्ट गर्दै विभिन्न भेरिएन्ट ल्याइसकेको छ।

हालसम्म ६ वटा भेरिएन्ट– अल्फा भेरिएन, बीटा, गामा, एप्सिलोन र डेल्टा भेरिएन्ट भेटिएका छन्। 
केही समययता डेल्टा भेरिएन्टको पनि म्युटेसन भइ ‘डेल्टा प्लस’ भेरिएन्ट भेटिएको छ।

भारतमा भेटिएको डेल्टा प्लस भेरिएन्ट हालसम्म ११ वटा देशमा फैलिइसकेको छ।

जुन १६ सम्मको तथ्यांकअनुसार १९७ जना डेल्टा प्लस भेरिएन्टबाट संक्रमित भइसकेका छन्। बेलायतमा ३६, क्यानाडामा १, भारतमा ८, जापानमा १५, नेपालमा ३, पोल्याण्डमा ९, पोर्चुगलमा २२, रसियामा १, स्विटजरल्याण्डमा १८, टर्कीमा १ र अमेरिकामा ८३ जनामा यसको संक्रमण।

तर, डेल्टा प्लस भाइरस कति संक्रामक छ भन्नेबारे हालसम्म वैज्ञानिकहरूले यकिन गरेर भन्न सकेका छैनन्। भर्खरै संक्रमण फैलन सुरू गरेका कारण यसमाथि अनुसन्धान भइरहेको छ।

विश्वले नयाँ भाइरससँग जुध्न तयार रहनुपर्ने अवस्था आउनै लाग्दा पनि बढी संक्रामक सावित भइसकेको डेल्टा भाइरससँग नै छुट्कारा पाउन सकिएको छैन।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ९ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।