Logo

रूसमा कोभिड खोपको नक्कली प्रमाणपत्र बनाउनेको बिगबिगी



मस्को
‘मैले खोप लगाउन नचाहनुको कारण अति सामान्य छ : यसले मलाई राम्रो गर्ने कुरा देख्दिनँ,’ मस्को अस्पतालकी एक मुटुरोग विशेषज्ञ भन्छिन् ।

रूसी खोपको प्रभावकारिताबारे उनलाई विश्वास छैन । त्यसैले उनले खोप कार्यक्रमको पहिलो ६ महिना बेवास्ता गरिन् ।

तर, हालै मस्कोका नगरप्रमुखले केही खास किसिमका सरकारी जागिरेहरूले अनिवार्य खोप लगाउनुपर्ने घोषणा गरेका छन् । चिकित्सकहरूलाई पनि त्यो नियम लागु हुन्छ ।

मुटुरोग विशेषज्ञ ती विशेषले यसबारे दुई दिनसम्म विचार गरिन् । अनि खोप नलगाइ प्रमाणपत्र किन्ने निर्णय गरिन् । उनले खोप लगाएको नक्कली प्रमाणपत्र किनिन् ।

मस्कोभर डेल्टा भेरिएन्ट देखा परेको र दैनिक वृद्धिदर बढिरहेकोबारे उनी चिन्तित भए पनि उनी खोपले गर्ने असरहरूबारे बढी चिन्तित छिन् ।

सामान्य रूपमा उनी खोपविरोधी होइनन् । उनी र उनका सन्तानले अन्य रोगविरुद्ध नियमित खोप लगाएका छन् ।
तर, तीनवटै रूसी खोपले दर्ता प्रक्रियाका लागि हतार गरेको उनलाई लागेको छ ।

यद्यपि विदेशमा बनेका अन्य खोप पाए के गर्ने भन्ने प्रश्नमा पनि उनी लगाउनेबारे यकिन गर्न सकिरहेकी छैनन् ।

अस्पताल व्यवस्थापनले सबै कर्मचारीले खोप लगाउनुपर्ने बताएपछि उनले स्थानीय खोप क्लिनिकमा सम्पर्क गरिन् ।
त्यहाँ करिब ७० डलर तिरेर स्पुत्निक खोपको एक मात्रा लगाएको पुष्टि गर्ने कागज बनाइन् । त्यसको २४ घण्टामा सरकारी दर्ता वेबसाइटमा उनले खोप लगाएको पुष्टि भयो ।

अबको तीन सातामा उनले दोस्रो मात्रा पनि लगाएको भनेर वेबसाइटमा देखा पर्नेछ । उनले आफ्ना आधा सहकर्मी र साथी खोपप्रति यसैगरी अनिच्छुक रहेको बताइन् ।

‘केही अज्ञात कुराको डर हो,’ उनी भन्छिन्,‘सरकारप्रति हाम्रो अविश्वासले पनि यसमा भूमिका खेलेको छ ।’

अधिकारीहरूले रूसको सबैभन्दा बढी प्रयोग भएको र पहिलो स्पुत्निक खोपले तीनवटा परीक्षण पार गरेको विषयलाई जोड दिन्छन् ।

उनीहरूले यो खोप अतिसुरक्षित रहेको र प्रभावकारिता पनि ९१ प्रतिशतभन्दा बढी रहेको दाबी गर्छन् ।

तर थुप्रै रूसीहरू त्यो विश्वास गर्दैनन् र केही त नक्कली प्रमाणपत्र किन्न खोजिरहेका छन् ।

यदि उनीहरूसँग ती मुटुरोग विशेषज्ञ जस्तै खोप लगाएको प्रमाणपत्र बनाउने क्लिनिकमा चिनजान छैन भने अनलाइन समाधान फेला पार्न सक्छन् ।

हालैको सातामा ‘खोप प्रमाणपत्र किन्नेबारे’ का अनलाइन खोजी अकासिएका छन् ।

किरिल एउटा रेस्टुरेन्टमा काम गर्छन् । उनलाई उनको व्यवस्थापकले खोप लगाउन भन्नेछन् भनेर चिन्ता लागेको छ । तर, उनी लगाउन चाहँदैनन् ।

‘म र मेरी श्रीमती बच्चा जन्माउन खोज्दैछौं,’ किरिल भन्छन्,‘कसलाई थाहा छ, खोपका कस्ता असर हाम्रो शरीरमा पर्छन् ।’

सेर्गेइ (नाम परिवर्तन) एकजना सम्पत्तिबारे काम गर्ने एजेन्ट हुन् ।

‘सिद्धान्ततः म खोपविरोधी होइन, म केवल रूसी खोप लगाउन चाहन्नँ । पश्चिमा देशमा बनेको खोप रूसमा प्रतिबन्धित भएकोले म जब सक्छु तब प्रमाणपत्र किन्नेछु,’ उनी भन्छन् ।

उनी र किरिल दुबै टेलिग्राम मेसेन्जरमा एउटा समूहसँग आवद्ध छन् जसले प्रमाणपत्र बिक्री गर्छ ।

सिभिल इन्जिनियर ओलेग (नाम परिवर्तन) र उनकी श्रीमती शिक्षिक एलिना (नाम परिवर्तन) पनि अनिवार्य खोप लगाउनुपर्ने वर्गमा पर्छन् ।

उनीहरूलाई यो नियम मानवअधिकारविरुद्ध भएको भन्ने लाग्छ ।

ओलेग स्पुत्निक खोपबारे विश्वास गर्दैनन् र ‘वैज्ञानिकहरूलाई जे भन्न निर्देशन दियो उनीहरूले त्यही भन्ने’ दाबी गर्छन् ।
एलिना पनि आफू वैज्ञानिक प्रयोगका लागि नभएको बताउँछिन् ।

उनलाई गत वर्ष कोभिड भएको थियो र अहिलेसम्म सबै एन्टिबडी सकियो होला भनेर उनलाई चिन्ता लाग्छ । उनी पनि खोप नलगाइ नक्कली प्रमाणपत्र बनाउने तयारीमा छिन् ।

यी कागजातहरूको मूल्य ३९ देखि २०९ डलरसम्म पर्छ ।

सरकारी दर्ता प्रणालीमा नाम राख्नका लागि सबैभन्दा बढी महँगो पर्छ ।

सबैभन्दा सस्तो एउटा कागजमा दिने प्रमाणपत्रको पर्छ जनु काम नलाग्ने पनि हुन सक्छ किनभने मस्कोका अधिकारीहरूले हालसालै क्यूआर कोड भएकालाई मात्रै आधिकारिक प्रमाणको रूपमा लिने गरेको छ ।

तर, कागजको प्रमाणपत्र बेच्नेहरूले पनि थप शुल्कका लागि सरकारी अनलाइन प्रणालीमा रहेको दाबी गर्छन् ।

एकजना त्यस्तै विक्रेता रोमन आफूले कागज प्रमाणपत्रमात्रै बेच्ने र त्यो डिजिटल प्रणालीमा नरहने स्वीकार गरेका छन् ।

रूसमा नक्कली खोप प्रमाणपत्रको कालोबजारी मार्चमा बढ्न थालेको हो जब मानिसहरू विदामा विदेश घुम्न जाने विचार गरे र  ती देशले खोप लगाएका मानिसलाई मात्रै आगमनको अनुमति दिने घोषणा गरे ।

तर, जुन महिनामा नयाँ प्रतिबन्धहरू लगाइएपछि कालोबजारी थप फस्टाएको छ ।

 

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ९ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।