विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले ३६ जनालाई आजीवन सदस्यता दिने नाममा ३६ जनालाई ठगी गरेको आरोप लगाइएको छ । महासंघको अक्षय कोष स्थापनाका लागि ३६ जनालाई आजीवन सदस्यता दिनेभन्दै प्रतिव्यक्ति पाँच हजारका दरले रकम उठाएको भए पनि सदस्यता दिएकी छैनन् ।
महासचिव भण्डारीले संविधान सभा सदस्यसमेत रहेकी सीता ज्ञवाली लुइँटेल र सनातन संस्कृति समाजका सहअध्यक्ष तारानाथ लुइँटेलसहित ३६ जनाबाट सदस्यता शुल्कबापत पाँच हजारका दरले एक लाख ८० हजार रुपैयाँ लिएको पनि सदस्यता दिएकी छैनन् ।
सहअध्यक्ष लुइँटेलले अनलाइनपनासँग भने, “महासंघलाई आजीवन सदस्यताका लागि शुल्क बुझाएको हौं । तर, अहिलेसम्म सदस्यताको प्रमाणपत्र पाइएको छैन । एक जना, दुई जना होइन ३६ जनाबाट रकम लिएर सदस्यता नदिएको अवस्था छ । महासंघकी महासचिव अस्मिता भण्डारीजीसँग पनि कुरा गरेको हो । तीन चार दिनमा हेरेर खबर गर्छु भनेको नै तीन महिनाभन्दा बढी भइसक्यो ।”
त्यस्तै विश्व हिन्दु युवासंघ भारतका राष्ट्रिय अध्यक्ष तथा विश्व हिन्दु महासंघ इकाई भारतका महासचिव नबल किशोर सरण महाराजले पनि पैसा तिरेर रसिद मात्र पाएको र सदस्यता नपाएको बताएका छन् ।
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी
महासंघकी महासचिव भण्डारीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएकी छन् । अनलाइनपानासँग कुरा गर्दै उनले भनिन, “रकम बुझाएको कुरा महासचिवलाई थाह हुने कुरा होइन । संस्थामा रकमको कारोबार कोषाध्यक्षले हेर्नुहुन्छ । जहाँसम्म तारानाथ लुइँटेलले मसँग कुरा गरेको भनिएको छ । त्यो सरासर झुटो हो । उहाँसँग यो विषयमा मेरो कुरा नै भएको छैन । यो सबै नौटंकी हो । मलाई फसाउन एउटा गिरोह नै लागि परेका छन् । खाएको विष लाग्छ, नखाएको लाग्दैन ।”
यसअघि यसै साता मात्र विश्व हिन्दु महासंघको नाममा दर्ता रहेको गोकर्णेश्वर नगरपालिका, गोकर्णमा रहेको तीन रोपनी ६ आना जग्गामध्ये करोडौं पर्ने ६ आना जग्गा २३ लाखमा बिक्री गरेको र तीन रोपनी जग्गा हराएको भन्दै अनियमितता गरेको आरोपमा भण्डारीविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
झुटो नाममा संस्थाको प्रचार गरेको आरोप
संस्थाको नाम विश्व हिन्दु महासंघ रहेपनी यसकाे प्रचार भने विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, बाँसबारी भनेर गर्ने गरेकोसमेत आरोप छ । महासंघले विभिन्न कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय समिति भनेर नै प्रचार गर्ने आरोप लाग्दै आएको छ । संस्थाको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझ्दा दर्ता नं ४० मा विश्व हिन्दु महासंघ भनेर उल्लेख गरिएको छ ।
यस विषयको अनुसन्धान तथा खोजी गर्ने क्रममा भने विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको नाममा फरक संस्था दर्ता भइ सञ्चालनमा रहेको पाइएको छ । उपेन्द्र गौतम अध्यक्ष रहेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति जिल्ला प्रशासन कार्यालय भक्तपुरको दर्ता नं ६२२ मा दर्ता भएको पाइएको हो ।
वास्तविक नाम र महासंघको पृष्ठभूमि
विसं २०३७ साल चैत २७ गते पर्साको पिपरामा योगी नरणीनाथद्वारा विश्व हिन्दु सम्मेलन नामक संस्थाको स्थापना भएको पाइन्छ । जसको समुद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहबाट भएको थियो ।
सो सम्मेलन नामक संस्था २०४० सालमा काठमाडौंमा सम्पन्न हिन्दु सम्मेलनबाट तत्कालीन प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा विश्व हिन्दु महासंघमा परिणत गरियो । तर विश्व हिन्दु महासंघले पाएको प्रमाणपत्रमा विश्व हिन्दु महासंघ भनी उल्लेख नै नभएको पाइयो । जबकी स्वर्गीय नारायण प्रसाद पोखरेलले विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति (दर्ता नं ३३८) गठन गरेपछि सो विषयलाई लिएर विवाद भएसँगै विश्व हिन्दु महासंघ, महासंघ नभई संघ मात्र भएको खुल्न आएको थियो ।
एउटै नाम, छाप र लोगोको विषयमा दुई संस्था बीचको विवाद बढ्दै गएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी वामन प्रसाद न्यौपानेले विश्व हिन्दु संघको प्रमाणपत्रमा संघ नै महासंघ रहेको भनी प्रमाणित गर्दै हस्ताक्षर गरेका थिए ।
याे पनि
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी
प्रतिक्रिया