मनसुन थप सक्रिय भएको पाँच प्रदेशका विभिन्न भागमा शुक्रबारसम्म अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधबारको तुलनामा विहीबार बढी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।
यी प्रदेशका ३० देखि ५० प्रतिशत क्षेत्रमा वर्षा हुने बताइएको छ ।
विभागले बढी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै वर्षा हुने अनुमान गरिएकाले जोखिम पनि धेरै रहेको बताइन्छ ।
मनसुन सुृरू भएको पहिलो सातामै विभिन्न भागमा पहिरो र बाढीका कारण जनधनको क्षति भएको थियो ।
सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण दर्जनौं मानिस अन्यत्र सर्न बाध्य भए भने कतिपय परिवार घरबारविहीन भएका छन् ।
अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको बताइएको छ ।
विभागले सिन्धुली जिल्लास्थि मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको जनाएको छ ।
यसैगरी बागमती, राईगाउँ, पधेरोदोभानलगायत बाढीमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकोले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा विहीबार सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया