Logo

मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो



दमौली : अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । 

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । 

बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षासँगै आएको बाढीले व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । 

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिएका छन् । 

छिर्कनेमा घर पुरियो 

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका-१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो । 

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् । 

प्रकाशित मिति : असार १७, २०७८ बिहीबार  ११ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।