Logo

पर्यटकहरु नेपाल घुम्नका लागि सोधपुछ गर्छन् तर टिकट बुक गर्दैनन्



सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैलेपनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिदैन ।

पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र र्याफ्टीङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको बताउनुभयो । खासगरी नेपालमा कोभिड संक्रमणका लागि के कस्ता मापदण्ड छन भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफूहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताउनुभयो ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोपुछ गरिरहेको बताउनुभयो । संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उहाँले बताउनुभयो । तर अहिलेसम्म कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले बताउनुभयो ।

पर्यटकहरुले नेपाल आउन सोधखोज गरिरहेपनि आफूहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाइ छ । तरपनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफूहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् । खासगरी पदयात्रा, पर्वतारोहण र र्याफ्टीङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीहरु बताउँछन् ।

कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेपनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा भने व्यवसायीहरु निराश देखिएकाे बताइएकाे छ ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ५ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।