Logo

अन्तर्राष्ट्रिय

मोदीको विरोध गर्ने पत्रकारलाई प्रकाउ गरियो



भारतमा प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीका एक कटु आलोचक रहेका तथ्य जाँच गर्न स्थापित एउटा वेबसाइटका सहसंस्थापकलाई पक्राउ गरेका छन् ।

मोहम्मद जुबैर अल्ट न्यूजका पत्रकार हुन् र उनीमाथि सामाजिक सञ्जाल ट्विटरमार्फत् धार्मिक आस्थामाथि आघात पु¥याएको र घृणा फैलाएको आरोप लगाइएको छ ।

विपक्षी नेताहरू र पत्रकारहरूले उक्त गिरफ्तारीको निन्दा गरेका छन् ।

उनीहरूले घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने भारतको हिन्दू राष्ट्रवादी सरकारको प्रयासका रूपमा पछिल्लो गिरफ्तारीलाई लिएका छन् ।

जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

उनले गरेको ट्वीट व्यापक रूपमा शेअर गरिएको थियो र त्यसका कारण कैयौँ मुसलमान देशहरूले भारतविरुद्ध रोष प्रकट गरेका थिए ।

केही सातायता हिन्दू राष्ट्रवादीहरूले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण गराउँदै आएका थिए र आफ्नो धार्मिक आस्थामा ठेस पु¥याएको भन्दै सरकारको निन्दा गरेका थिए ।

मोहम्मद जुबैर को हुन ?
जुबैर चर्चित भारतीय पत्रकार हुन। उनले पूर्वइन्जिनियर प्रतीक सिन्हासँग मिलेर सन् २०१७ मा अल्ट न्यूज नामक फ्याक्ट चेकिङ वेबसाइट सुरु गरेका थिए ।

भारतमा मिथ्या सूचना र समाचारलाई नियन्त्रण गर्न प्रभावशाली भूमिका खेल्दै छोटो समयमा नै उक्त वेबसाइटले ख्याति कमाएको छ ।

अल्ट न्यूजले गरेका तथ्यजाँचहरू जुबैरले आफ्नो ट्विटर खातामार्फत् शेअर गर्ने गरेका थिए। ट्विटरमा उनका पाँच लाखभन्दा बढी फलोअर छन् ।

गत साता एउटा इमेल पाएका थिए जसमा यति नरसिंहानन्द, महन्थ बजरङ्ग मुनि र आनन्द स्वरूपका घृणासँग सम्बन्धित अभिव्यक्तिबारे टिप्पणी गरेकोमा ट्विटरमाथि आक्रमण भइरहेको जनाइएको थियो ।

मुस्लिम समुदायविरुद्ध उत्तेजनात्मक र आपत्तिजनक प्रतिक्रिया दिने हिन्दू नेताहरूलाई जुबैरले “घृणा फैलाउने“को सङ्ज्ञा दिने गरेका छन्। यति नरसिंहानन्दलाई त्यस्तो अभिव्यक्ति दिएकोमा थुनामा राखिएको थियो र पछि धरौटीमा छाडिएको थियो ।

पक्राउ किन गरियो ?
सोमवार जुबैरलाई एउटा ट्विटर खातामार्फत् गरिएको उजुरीका आधारमा दिल्लीबाट गिरफ्तार गरिएको हो ।

त्यसमा उनले सन् २०१८ मा हनुमान्को नाममा एउटा होटलको पुनर्नामकरण गरिएको विषयमा जनाएको प्रतिक्रिया आपत्तिजनक रहेको उल्लेख गरिएको एएनआई समाचारसंस्थाले दिल्लीका वरिष्ठ प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

प्रहरीले पछि जारी गरेको विज्ञप्तिले उक्त ट्वीटलाई जुबैरका फलोअरले थप फैलाएको र त्यसले “शृङ्खलाबद्ध बहस÷घृणा फैलाउने काम गरेको“ उल्लेख गरिएको छ ।

प्रहरीले जुबैरको व्यवहार “प्रश्न उठाउन मिल्ने“ रहेको भन्दै त्यसका लागि “हिरासतमा राख्न दिइनुपर्ने“ दाबी गरेको थियो ।

अल्ट न्यूजका सहसंस्थापक प्रतीक सिन्हा उनीसँगै प्रहरीसमक्ष गएका थिए। उनले आफू र जुबैर दुवैलाई पक्राउ गर्न प्रयोग गरिएको भनिएको उजुरीको प्रतिलिपि नदिइएको बताए ।

सुरुमा उनीहरूलाई पक्राउ गरेर कहाँ लगिँदैछ भन्ने बताइएको पनि थिएन ।

जुबैरलाई सोमवार स्थानीय म्याजिस्ट्रेटसमक्ष प्रस्तुत गरिएको थियो। उनले जुबैरलाई एक दिन हिरासतमा राख्ने अनुमति दिएका थिए। त्यसपछि उनलाई आफ्ना वकिलसँग भेट्न दिइएको थियो ।

कैयौँ पत्रकारहरूले उनको तुरुन्तै रिहाइको माग गरिरहेका छन् ।

पत्रकार राना आयुब भन्छिन्, “निरन्तर मिथ्या समाचार खारेज गर्ने र भारतमा घृणा फैलाउने संयन्त्रको पर्दाफास गर्ने जुबैर भर्खरै पक्राउ परेका छन् ।“

उनले भारतमा देखिएको विचलनबारे समाचार लेख्ने र त्यसको विवरण राख्नेहरूलाई दण्डित गरिएको पनि जनाएकी छन् ।

विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले पनि उक्त गिरफ्तारीको चर्को शब्दमा निन्दा गरेका छन् ।

बीबीसीबाट

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  १२ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।