Logo

राजनीति

विधान विपरीत पदको दुरुपयोग गर्दै क्रियाशील नथप्‍न रमेश लेखकलाई कञ्‍चनपुर कांग्रेसको चेतावनी 



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकलाई विधान विपरीत पदको दुरुपयोग गर्दै क्रियाशील सदस्यहरु नथप्‍न नेपाली कांग्रेस कञ्‍चनपुरले चेतावनी दिएको छ । कांग्रेस कञ्‍चनपुरका सचिव लेखराज जोशीले एक विज्ञप्ति जारी गर्दै लेखकले विधान विपरीत, कार्यसमितिमा कुनै छलफल नै नगरिक क्रियाशील सदस्यहरुको नाम सिफारिस गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । 

“नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा नाम प्रकाशित हुँदा छुटेका वा सच्याउनुपर्ने बाहेक जिल्लाका विभिन्‍न वडाहरुमा प्रक्रिया नपुर्‍याइ सिफारिस गरिएका कुनै पनि क्रियाशील सदस्यको सूचीमा समावेश नगर्न केन्द्रीय छानबिन समितिलाई विज्ञप्तिमार्फत आग्रह गर्दछौं,” जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आफ्नै प्रतिनिधि सभा क्षेत्रमा पुरानो क्रियाशील सदस्यता नविकरणको सूचीमा सिफारिसबिना नयाँ थपेर पठाएको तथ्य फेला परेको हो । लेखकले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भिमदत्त नगरपालिका-५ मा सिफारिसबिना सात जनाको नाम थपेर पठाएका हुन् । 

पुरानो क्रियाशील सदस्यता नविकरणका लागि वडा समितिले नगरलाई, नगरले प्रदेश सभा क्षेत्रलाई प्रदेश सभा क्षेत्रले प्रतिनिधि सभा क्षेत्रलाई, प्रतिनिधि सभा क्षेत्रले जिल्लालाई र जिल्लाले बल्ल केन्द्रमा पठाउने प्रावधान छ । यसमा वडाको सहमतिबिना कसैले काटछाट गर्न नपाउने व्यवस्था छ । तर, लेखकले मातहतका कुनै पनि निकायलाई थाहै नदिइकन नविकरणको सूचीमा ७ जनाको नाम थपेर क्रियाशी सदस्यताको सूची सार्वजनिक गरेपछि विवाद भएको हो ।

यसअघि भिमदत्त नगरपालिका-५ का सभापति श्यामसुन्दर ठकुराठीले कुनै पनि निकायको सिफारिसबिना छानबिन समितिका संयोजक लेखकले नविकरणको लिष्टमा ७ जना थपेर पठाएको बताएका थिए । उनले सभापति देउवालाई लेखेको पत्रमा भनेका छन्, “पार्टी विधान अनुसार पुरानो क्रियाशील नविकरण वडाको सिफारिसबिना हुँदैन । तर, छानबिन समितिका संयोजक रमेश लेखकले कुनै पनि निकायबाट  सिफारिस नगरी ७ जना थपेर पठाइदिनु भयो । त्यो बदर गर्न हामीले छानबिन समितिलाई पत्र लेख्यौं । त्यसको अवलम्बन भएपछि केन्द्रीय सभापतिलाई पत्र लेखेका छौं । अझै सुनुवाइ भएको छैन ।”

त्यस्तै तल्ला निकायलाई थाहा नदिइ पार्टीको कञ्चनपुर जिल्ला समितिले थपेर पठाएका तीन जनाको नाम पनि छानबिन समितिले पार्टीको सर्भरमा सार्वजनिक गरेको छ । जिल्लाले तल्ला चार तहको सिफारिसबिना पुस्करराज भट्ट, पुस्कर पन्त र किसन भट्टको नाम थपेर पठाएको आरोप वडा सभापति ठकुराठीले जानकारी दिए । त्यो जिल्ला समितिले असार ५ गने सिफारिस गरेको जानकारी आफूहरूले पाएको र आपत्ति जनाएको उनको भनाइ छ ।

वडा समितिले २०७७ भदौ ११ गते नविकरणका लागि वडामा ६७ जना क्रियाशील सदस्य रहेको भन्दै तीन जनाको मृत्यु भएकाले ६४ जनाको नामावली नगर हुँदै क्षेत्रमा पठाएको थियो । क्षेत्रीय समितिले २०७८ वैशाख ५ गते वडालाई सबै नाम स्वीकृत गरेर नविकरणका लागि जिल्लामा सिफारिस गरिएको मौखिक जानकारी दियो । त्यही वैशाखकै १५ गते क्षेत्रीय समितिका सचिव प्रकाश जोशीले ६४ जनाको नाम प्रमाणित गरी नविकरणका लागि पठाएको जानकारी वडालाई दिएका थिए । 

तर, ३० वैशाखमा केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्दा ७१ जनाको आएपछि वडाले निर्णय गरी सिफारिस गरेका ६४ बाहेकका नाम रद्द गर्न माग गर्दै गत जेठ ७ गते केन्द्रीय सभापति शेरबहादुर देउवाका नाममा पत्र लेखेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।