Logo

अख्तियारमा अनुसन्धानको दायरमा रहेकी महासचिव भण्डारी भारत प्रस्थान 



२०६२/६३ सालको जनआन्दोलन नभएको भए नेपाल धर्म निरपेक्ष राष्ट्र बन्‍ने थिएन । जनआन्दोलनको एजेण्डामा धर्म निरपेक्षता नभए पनि उक्त आन्दोलनको बलमा राजाले पुनर्स्थापित गरिदिएको संसदबाट मूलुक धर्मनिरपेक्ष बन्यो । २०७२ सालमा जारी नेपालको संविधानले देशलाई वैधानिक रुपमै धर्मनिरपेक्ष बनाएको छ । 

विश्वको एकमात्र हिन्दुराज्यलाई धर्मनिरपेक्ष राज्य बनाएपछि हिन्दु अभियन्ताहरुले नेपाल हिन्दु राज्य नै हुनु पर्ने भन्दै चर्को आवाज उठाइ रहेका छन् । यससम्बन्धी अभियान चलाउन विभिन्‍न धार्मिक संघसंस्थासमेत खुलिरहेका छन् । हिन्दु राज्य बनाउने एजेण्डा बोकेका विभिन्‍न संघसंस्थाहरु भए पनि उनीहरुबीच एकता भने छैन । 

धार्मिक संस्थाको जिम्मेवार पदमा रहेकाहरुले एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने दम्भका कारण उनीहरुको एजेण्डा सफल हुने कुनै संकेत छैन । पछिल्लो समय धर्मको नाममा आजीवन सदस्यता वितरण गर्ने नाममा विभिन्‍न व्यक्तिहरुबाट रकम लिएको आरोप विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीलाई लागेको थियो । 

देशलाई धर्मनिरपेक्ष र संघीय राज्य बनाउन गरिएको जनआन्दोलनताका राजसंस्थाविरुद्ध नै आपत्तिजनक नारा लगाएको आरोपसमेत उनले लगाउने गरेकी थिइन् । तर, अहिले भने भण्डारी तत्कालीन राजा विरेन्द्रले उद्घाटन गरेको विश्‍व हिन्दु सम्मेलनको निरन्तरताको रुपमा स्थापना भएको विश्‍व हिन्दु महासंघको महसचिव छन् । विसं २०४७ साल चैत २७ गते रामनवमीको दिन राजा विरेन्द्रले पर्साको पिपरामा विश्व हिन्दु सम्मेलनको उद्घाटन गरेका थिए । उक्त सम्मेलनकै निरन्तरताका रुपमा २०४० मा विश्‍व हिन्दु संघ र २०४४ मा काठमाडौंमा सम्पन्‍न विश्‍व हिन्दु महासम्मेलनले विश्व हिन्दु महासंघमा परिणत भएको थियो । 

Asmita Bhandari 1.jpg

२०६० सालमा विश्व हिन्दु महासंघबाट पण्डित नारायणप्रसाद पोखरेलले अलग भइ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति गठन गरेका थिए । उक्त समिति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३३८ नम्बरमा दर्ता भएको थियो । एउटै नाम, झण्डा र लोगो भएको कारणले विवाद हुँदा काठमाडौंका तत्काली प्रमुख जिल्ला अधिकारी वामनप्रसाद न्यौपानेले दुबै पक्षको प्रमाणपत्र हेर्दा विश्व हिन्दु महासंघ भनिएको प्रमाणपत्रमा विश्व हिन्दु संघमात्र रहेको खुलेको थियो । तर, उक्त कुरा खुलेपछि प्रजिअ न्यौपाने संघलाई नै महासंघ भएको भन्दै प्रमाणित गरिदिएका थिए ।

सोही मुद्दा सर्वोच्च अदालतले समान, नाम र छाप र लोगो भएको संस्था पनि वैधानिक हुने ठहर गरेको थियो । सोही संस्थाको महासचिव अहिले भण्डारी रहेकी छन् । भण्डारील विश्‍व हिन्दु महासंघको महासचिव भए पनि आफूलाई भने विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिव भएको दाबी गरिरहेकी छन् । तर, उनको यो दाबी झुटो भएको खुलेको छ । 

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति उपेन्द्र गौतमको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपु्रमा दर्ता नम्बर ६२२ मा दर्ता भएको पाइएको छ । संघसंस्था दर्ता ऐन २०३४ ले एउटै नामको दुई वा त्योभन्दा बढी संस्था दर्ता गर्ने अनुमति दिएको छैन । त्यसैले पनि भण्डारीको दाबी गरेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको महासचिव नभएको पुष्टि हुन्छ । 

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकै अध्यक्ष दाबी गर्दै आएका भरत केशर सिंहको निधन भएपछि कार्यबाहक अध्यक्षको भरमा चलाइएको महासंघको सम्पूर्ण जिम्मेवारी भण्डारीले नै हेर्ने गरेको समितिकै एक सदस्यले जानकारी दिएका छन् । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रय समितिको विशिष्ट आजीवन सदस्यता बन्‍नका लागि रु पाँच हजार शुल्क तोक्दै रकम उठाउने गरेकोसमेत पाइएको छ । समिति नै नभएको संस्थाको नाममा उनले रकम उठाउने गरेकोसमेत पाइएको छ । 

यसअघि गोकर्णेश्‍वरमा रहेको महासंघको जग्गाको विषयमा अख्तियारमा उजुरी परेपछि महासचिव भण्डारी भारत प्रस्थान गरेकी छन् । उनका पक्षमा प्रेस विज्ञप्ति जारी गर्ने अमरकेशर सिंहलाई साथमा लिएर भण्डारी आइतबार भारत प्रस्थान गरेकी हुन् । अमर केशर महासंघका पूर्वअध्यक्ष भरत केशरका छोरा हुन् । अख्तियारमा परेको उजुरीको विषयमा अनलाइनपानाले समाचार लेखेपछि फेसबुकमा लाइभ आएकी भण्डारीले समाचारमा आपत्ति जनाउँदै अख्तियारमा उजुरी नपरेको दाबी गरे पनि पछि सचिव अमरकेशर सिंहले जारी गरेको विज्ञप्तिमा भने रुद्रमती युवा क्लबले उजुरी हालेको स्वीकार गरिएको छ । महासचिव भण्डारीले जग्गा बेचेको स्वीकार गरे पनि अनियमितता भने नभएको दाबी गरेकी छन् । 

भण्डारीले आफ्नो सामाजिक सञ्‍जालको बायोमा पनि अन्तर्राष्ट्रियको महासचिव लेखेकी छन् । अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोला हुन् । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष उपेन्द्र गौतमले भण्डारी कहिलेकाहीं विदेशमा पनि जाने भएकोले अन्तर्राष्ट्रिय समितको महासचिव भनेको हुनसक्ने भन्दै व्यंग्य गरेका छन् । साथै अध्यक्ष न्यौपानेले यस बारेमा चाँडै छानबिन गरेर भ्रमको निवारण गर्ने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस् ।

विश्व हिन्दु महासंघकी महासचिव भण्डारीले आजीवन सदस्यताको नाममा ३६ जनालाई ठगी गरेको आरोप 

विश्‍व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ४ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।