Logo

जर्मनीले नेपालसहितका पर्यटकमाथि लगाइएको प्रतिबन्ध हटाउँदै



बर्लिन
जर्मनीले कोभिडका कारण युके र नेपालसहित अन्य तीन राष्ट्रका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ ।

पोर्चुगल, रूस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध जर्मनीले बुधबारबाट हटाउने भएको हो ।

पूर्ण रूपमा खोप लगाइसकेका व्यक्ति जर्मनी पुग्दा क्वारेन्टिनमासमेत बस्नु नपर्ने बताइएको छ ।
खोप नलगाएका मानिसहरू भने १० दिनसम्म् क्वारेन्टिनमा बस्नुपर्ने छ ।

तर, उनीहरूले पाँचौं दिनमा परीक्षण गर्दा नतिजा निगेटिभ आए क्वारेन्टिनबाट बाहिरिन पाउने छन् ।

हालसम्म यी पाँच देशहरूलाई डेल्टा भेरिएन्ट र डेल्टा प्लस भेरिएन्ट फैलिएका कारण ‘भाइरस भेरिएन्ट एरियाज’ को रूपमा वर्गीकरण गरिएको थियो ।

त्यो भेरिएन्ट सुरूमा भारतमा पहिचान भएको थियो ।

जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

यी पाँच राष्ट्रहरूलाई अब संक्रमितहरूको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ ।

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो ।

अबको दुई सातामा इन्गल्याण्डमा सामाजिक दूरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ ।
जोनसनले खोप कार्यक्रमले नयाँ संक्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताएका छन् ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।