Logo

नाइजेरिया : एक विद्यालयबाट १४० बालबालिकाको सामूहिक अपहरण



नाइजेरियाको काडुना राज्यमा विद्यालयमा अध्ययनरत १४० बालबालिकाको अपहरण भएको छ । बन्दुकधारीको एक समूहले बालबालिकाको अपहरण गरेको हो ।

प्रहरीले घटनाको पुष्टि गर्दै नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रको काडुनामा कम्तिमा १४० बालबालिकाको अपहरण भएको जनाएको छ । यसअघि आइतबार पनि आठजनाको अपहरण भएको खबर र्साजनिक भएको थियो ।

आइतबार जारियामा राष्ट्रिय क्षय रोग एवं कुष्ठ रोग केन्द्रबाट आठजनाको अपहरण भएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार अपहरणमा परेकामध्ये दुईजना नर्स र एक १२ महिनाको बच्चा छन् ।

नाइजेरियामा पछिल्लो समय विद्यालय र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका घटनाहरू बाहिर आएका छन् । सोमबार जारियाभन्दा ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना सहर नजिक एक विद्यालयबाट सामूहिक अपहरणको खबर आएको थियो ।

बेथेल बैपटिस्ट विद्यालयबाट अपहरणमा परेकी एक १५ वर्षीया छात्राकी आमाले मोटरसाइकलमा आएका हतियारधारी समूह अपहरणमा संलग्न रहेको बताएकी छिन् ।

विद्यालयभित्र प्रवेश गरेर उनीहरूले १४० बालबालिका नियन्त्रणमा लिएको उनको भनाइ छ । हतियारसहित आएका उनीहरूले विद्यालयका सुरक्षा गार्डलाई बन्धक बनाइ छात्रावासबाट बालबालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ ।

गएको सेप्टेम्बर महिनादेखि अहिलेसम्म १ हजार अपहरणका घटना नाइजेरियामा सार्वजनिक भएको छ । अपहरणमा परेकामध्ये ९ जनाको हत्या भएको छ । दुई सयभन्दा बढी विद्यार्थी वेपत्ता छन् जसमध्ये कतिपयको उमेर ३ वर्ष रहेको बताइएको छ ।

 

प्रकाशित मिति : असार २२, २०७८ मंगलबार  ९ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।