Logo

अपिले ५६ लाख ७० हजार कित्ता साधरण सेयर निष्काशन गर्दै 



अपि पावर कम्पनीले ५६ लाख ७० हजार कित्ता हकपद्र साधरण सेय निष्काशन गर्न लागेको छ । ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ सेयर बराबर नयाँ ०.४७६ सेयरका दरले सेयर निष्काशन गर्ने जनाएको छ । 

कम्पनीले सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट असोज १८ गते स्वीकृति प्राप्त गरिसकेको छ । कम्पनीले फागुन ३० गतेसम्म कायम साविक सेयरधनीका लागि सेयर बिक्री गर्न लागेको जनाएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँमा सेयरधनीलाई कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म सेयर जारी गरिने जानकारी दिएको छ।

हकप्रदबाट उठाएको रकम कम्पनीले माथिल्लो चमेलिया आयोजना निर्माणका लागि खर्च गर्ने जानकारी कम्पनीले दिएको छ। यो आयोजनाका लागि सात अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ। कम्पनीले कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम दुई अर्ब २२ करोड सेयरधनीलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ।

बाँकी ७० प्रतिशतले हुने पाँच अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाईमा कम्पनीले कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकको सह–वित्तीयकरणबाट उठाउने छ।

दार्चुलाको अपि हिमाल र मार्मा गाउँपालिका भएर बग्ने चमेलिया नदीको पानी उपयोग गरी अपि हिमाल गाउँपालिकाको ओखलमा बाँध बनाई ६ किलोमिटर लामो ३।२ डायमिटरको पेनस्टक पाइपको सहायताले मार्माको घट्टेगाढमा विद्युत गृह निर्माण गर्ने योजना कम्पनीको छ।

कम्पनीले त्यहाँबाट उत्पादन हुने विद्युत १६ किलोमिटर लामो १३२ के।भी। ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिने कम्पनीले जानकारी दिएको छ। आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने पनि कम्पनीले जनाएको छ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ। आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष नै एक अर्ब ६२ करोड रुपैयाँ आय आर्जन हुने पनि कम्पनीले जानकारी दिएको छ।

२०७० मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको अपि पावरको हाल अधिकृत पुँजी ५०० करोड रुपैयाँ, जारी पुँजी ४०० करोड र चुक्ता पुँजी ११९.०७ करोड छ। गत आर्थिक वर्षसम्म कम्पनीको जम्मा नेटवर्थ १३६ करोड रहेको छ भने जगेडा कोष तथा संचित नाफा १७ करोड छ।

कम्पनीले सुदूरपश्चिममा ८.५ मेगावाट क्षेमताको नौगाड गाढ जलविद्युत आयोजना र सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।