नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेशन गरेका पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको लेनदेनको ठोस प्रमाण भने उल्लेख नगरिएको उनले जानकारी दिएका छन् ।
प्रहरीमा उजुरी दिएकी दीपाले पूर्वमन्त्री साहले आफूबाट पटक-पटक गरी ३० लाख ५० हजार रुपैयाँ लिएको र १० लाख ५० हजार मात्रै फिर्ता गरेको दाबी गरेकी छन् । फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको दीपाको जिकिर छ । तर, प्रहरीमा दर्ता भएको निवेदनमा आरोपित बनाइएका पूर्वमन्त्री साहले दीपासँग आफ्नो कुनै लेनदेन/आर्थिक कारोबार नै नभएको दाबी गरे ।
उनले भने, “म मधेसको मान्छे, उनी काठमाडौंको, मेरो सारा जीवन ऐना जस्तो खुला छ, उनको के-कस्तो हो, सबै खोजबिन गरेर बाहिर ल्याउनुहोस, मैले उनीसँग कुनै लेनदेन नै गरेको छैन ।” तर, दीपाले मन्त्री साहलाई २०७४ को प्रतिनिधिसभा निर्वाचन ताका १० लाख ५० हजार र त्यसपछि २० लाख रुपैयाँ दिएको दाबी गरिन् ।
पछिल्लो पटकको रकम संसद् सचिवालयको १ नम्बर भवनको कोठामै गएर दिएको उनको दाबी छ । पछिल्लो पटक दिएको रकम आफ्नो छोरा दीपेश केसीलाई क्यानडा पठाउनका लागि साहलाई दिएको उनले बताएकी छिन् । उनले भनेकी छन्, “क्यानडामा क्यासिनो सञ्चालक रहेका सर्लाहीका नगेन्द्र झा आफ्नो साथी रहेको र उसैमार्फत क्यानडा पठाइदिन्छु भनेर प्रभु साहले रकम लिएका हुन् ।”
प्रतिक्रिया