काठमाडौँ महानगरपालिका वडा नं २९ रुद्रमती किनारस्थित घट्टेकुलोमा वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक भवन निर्माण शुरु भएको छ ।
पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले सांसद पूर्वाधार कोषबाट रु दुई करोड र वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रदेशसभा पूर्वाधार कोषबाट प्रदान गरेको रु एक करोडबाट भवन निर्माण शुरु भएको वीर गणेशमान ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ध्रुव केसीले जानकारी दिए। गत आर्थिक वर्षमा सांसद पूर्वाधार कोषबाट नेता सिंहले छुट्याएको रु ७० लाख बजेटबाट काम प्रारम्भ भएको थियो । हाल भुइँतलाको काम सकिएको छ ।
दुई रोपनी क्षेत्रफलमा बन्ने ज्येष्ठ नागरिक भवन निर्माणपछि यस क्षेत्रका वृद्धवृद्धाका लागि सहज हुने विश्वास लिइएको छ । ठूलो हलसहित ७० कोठाको पाँच तले भवन बनाउन रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । एक वर्षभित्र भवनको काम सक्ने गरी काम भइरहेको वडा अध्यक्ष कुश ढकालले बताए। भवन निर्माण सम्पन्न भएपछि ४० जनााई सःशुल्क र ४० जनालाई निःशुल्क गरी ८० जना वृद्धवृद्धालाई सेवा दिने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।
भवनको तल्लो तलामा ठूलो हलसहित स्वास्थ्य सेवासमेत दिने गरी संरचना निर्माण गरिएको छ । भवन निर्माणका लागि पूर्वाधार कोषले नभ्याउने रकम महानगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यासका अवसरमा गरेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया