प्रधानमन्त्री केपी शर्मा ओलीले भ्याक्सिन नपाउने स्थिति अन्त्य भइसकेको बताएका छन् ।
वीर अस्पतलामा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल भवनको आइतबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिन आउने क्रम सुरू भइसकेकोले खोप नपाउने स्थिति अन्त्य भइसकेको बताएका हुन् ।
‘भ्याक्सिन आउने क्रम सुरू भइसकेको छ। हिजो पनि आएको छ, भोलि पनि आउँदै छ,’ उनले भने,‘निरन्तर ल्याउने प्रयास भइरहेको छ । अब भ्याक्सिन नपाउने स्थिति हामीसँग छैन ।’
२०२१ को अन्त्यसम्म सबैलाई खोप दिने गरी सरकारले प्रयास गरिरहेको उनले बताएका छन् ।
‘खोपको अभाव हुन नदिन नयाँ सम्झौताका प्रयास भइरहेका छन्, यस वर्षको अन्त्यसम्म मोटामोटी सबैलाई खोप दिने लक्ष्य हामीले लिएका छौं,’ ओलीले भने,‘हाम्रो क्षमताले भ्याएसम्म सबैलाई खोप दिइन्छ। केही पर जानसक्छ ।’
जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर सरकारले काम गरेपछि स्वास्थ्य क्षेत्रमा पछाडि रहे पनि कोरोना नियन्त्रणमा ठूलो सफलता हासिल भएको उनको भनाइ थियो ।
शिक्षा र स्वास्थ्यको हब बनाउनमा उनले जोड दिएका छन् ।
डाक्टरले शारीरिक उपचारमात्र गरेर नहुने भएकोले बिरामीसँग मनोवैज्ञानिक ढंगबाट व्यवहार गर्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया