आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।
आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन
आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् ।
पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफुहरु लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइन बताउछन् ।
प्रतिक्रिया