पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार ड्यानिश सिद्दीकीको अफगानिस्तानमा मारिएका छन् । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले सिद्दीकीको मृत्यु भएको पुष्टि गरेका छन् । स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीको मृत्यु भएको हो ।
अफगानिस्तानको टीभी च्यानल तोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको संघर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो । तालिबान समूहले बुधवार स्पिन बोल्डक सहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्त्वपूर्ण सीमा चौकीमा नियन्त्रण लिएका थिए ।
ड्यानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटो पत्रकार थिए र उनी केही दिनदेखि अफगानिस्तानमा चलिरहेको सङ्घर्ष र तनावको रिपोर्टिङ गरिरहेका थिए । उनले आफ्नो ट्विटर अकाउन्टमा पछिल्लो दिन लगातार त्यहाँको स्थितिको जानकारी दिँदै आक्रमणमा पटक–पटक बचेको बारेमा बताएका थिए ।
ड्यानिश सिद्दीकी भारतमा रोयटर्स पिक्चर्सको मल्टिमिडिया टिमको प्रमुख थिए । उनले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । सन् २००७ मा उनले जामियामा नै एजेके मास कम्युनिकेशन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।
उनले पत्रकारितामा आफ्नो करिअरको सुरुवात एक टीभी न्युज संवाददाताका रूपमा गरेका थिए । पछि उनी फोटो पत्रकार बने र सन् २०१० मा रोयटर्समा प्रशिक्षार्थीका रूपमा काम गर्न सुरु गरे । उनले सन् २०१८ मा फिचर फोटोग्राफीमा पुलित्जर पुरस्कार जितेका थिए । – अलजजिरा
प्रतिक्रिया