Logo

प्रमुख समाचार

यसकारण पनि प्रेमीसँग झगडा गर्न आवश्यक छ



कुनैपनि प्रेम सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै सद्भावपूर्ण, इमान्दार अनि खुला भएर कुरा गर्नु हो । यसलाई प्राथमिकतामा राखे मात्र दुवैजना खुसी हुन सक्ने बताइन्छ ।

फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जिम मेकनल्टी भन्छन्, “हामीले हाम्रो रिसर्चबाट पत्ता लगाएको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सिधा र इमान्दार भएर कुरा गर्दा त्यसले सम्बन्धलाई सबैभन्दा बढी फाइदा पुर्याउँछ । ”

उनले भर्खर विवाह गरेकाहरु देखि लामो समय सम्बन्धमा रहने लगायत विभिन्न किसिमका प्रेम सम्बन्धबारे अध्ययन गरिसकेका छन् । उनका अनुसार कुनै पनि कुरा सिधा नभनेर, बङ्ग्याएर भन्ने या लुकाउने, व्यङ्ग्य गरेर भन्ने गर्नुले सम्बन्धमा एकदम खराब प्रभाव पार्दछ ।

उनले भने, “जब दुई मानिसको धारणा फरक हुन्छ नि त्यस्तो अवस्थामा आफ्नो आवाज अर्को व्यक्तिसम्म पुर्याउनु सबैभन्दा जरुरी हुन्छ । अर्थात् भित्रै दबाएर नराखि आफूलाई लागेको, महसुस भएको कुरा सिधा भन्नु नै सबैभन्दा फाइदाजनक हुन्छ ।”

यसकारण पनि प्रायः अवस्थामा जोडीहरुबीच हुने झगडा दिर्गकालीन हिसाबले नराम्रो नहुने अनुसन्धानकर्ताहरु बताउँछन् । यस्तो झगडालाई स्वस्थ लडाईँ पनि भनिएको छ ।

कतिपय मानिसहरुको प्रवृत्ति कस्तो हुन्छ भने उनीहरु आफ्ना प्रियजनसँग झगडा गर्न कठिन हुने भन्दै कहिल्यै भनाभन नहुने गरेकामा गर्व गर्दछन् । तर वास्तवमा यो एकदम गम्भीर गलती भएको विज्ञहरुको भनाइ छ ।

प्रोफेसर मेकनल्टी भन्छन्, “जब मानिसहरु झगडा गर्नबाट बच्छन् या भनाभन गर्दैनन् यो दुवैका लागि राम्रो हुँदैन । त्यसैले म सधैँ आफ्नो पार्टनरलाई भन्छु तिमीलाई कुनै कुराले अफ्ठेरो भइरहेको छ या चित्त बुझेको छैन भने म त्यसबारे तुरुन्तै थाहा पाउन चाहन्छु । अनि मैले आफूमा सुधार ल्याउन सक्छु । यदि मलाई केही थाहा नै भएन भने मैले केही गर्न सक्दिनँ । अनि समस्या कहिल्यै समाधान हुनेछैन झन् झन् ठूलो रुप लिनेछ ।”

२०० जोडीलाई १७ वर्षसम्म अध्ययन गरिएको अर्को एक २००८ को रिसर्चमा कोही एकले पनि आफ्नो रिस या असन्तुष्टि दबाएर राख्ने गरेमा त्यो तिनको सम्बन्ध अनि स्वास्थ्यका लागि समेत अत्यन्तै हानिकारक हुने गरेको पत्ता लागेको थियो ।

फिलाडेल्फियास्थित थेरापिस्ट केटिलिन केन्टोर भन्छिन्, “झगडाबाट टाढा रहन खोज्नुले लामो समय काम गर्दैन । यदि तपाईँले झगडा गरेर भएपनि आफ्नो पार्टनरलाई बुझ्नुहुन्छ, भिन्नता कम गर्न सक्नुहुन्छ भने किन त्यसो नगर्ने रु त्यस किसिमको झगडा सधैँ स्वस्थकर नै हुन्छ ।”

तर यसमा केही ख्याल राख्नुपर्ने कुराहरु पनि छन् । जस्तै हामीले समय हेरेर मात्र आफ्ना असन्तुष्टि या रिस पोख्नुपर्छ । धेरै अवस्थामा मानिसहरु एकै झट्कामा आक्रोशित भइ नसोचि बोल्ने गर्दछन् अनि पछि गएर आफूले बोलेको कुरामा पछुतो मान्छन् ।

त्यसैले यसमा खप्नै नसक्ने महसुस हुने बित्तिकै आफ्ना भावहरुबारे बताउन या छलफल गर्न एउटा समय राख्ने जसबेला दुवैसँग ‘फ्रि’ र स्ट्रेसमुक्त हुन्छन् ।

यस्तो बेलामा सोचेर विचार गरेर अनि सही रुपमा आफ्ना भावहरु व्याख्या गर्न सकिन्छ । त्यसैले पनि यस्तो छलफलले धेरै समस्या समाधान गर्न सक्ने मेकनल्टी बताउँछन् ।

उनले थप भने, “यदि कसैलाई एकदम आक्रोशित महसुस भइरहेको छ भने एकपटक सोच्ने, मलाई किन यो सानो कुराले यति धेरै रिस् उठिरहेको छ रु यसले हामीलाई मुख्य समस्या अरु नै कुरा भएको आभास गराउँछ । त्यसैले समय मिलाएर आफू किन खुसी हुन सकिरहेको छैन भन्नेमा पार्टनरसँग छलफल गरेमा यसले सम्बन्ध सुधार्न उल्लेखनीय मद्दत गर्न सक्छ । ”

यसैगरी यस किसिमको झगडा गर्दा आफू मात्र बोल्ने होइन आफ्नो पार्टनरको कुरा सुन्न अनि बुझ्ने प्रयास गर्न पनि उत्तिकै महत्वपूर्ण रहेको केन्टर बताउँछन् । अचानक रिसाउने या चित्त दुखाउने भन्दा पनि अर्को व्यक्तिको कुरा बुझ्न खोज्नुले दुवैलाई धेरै मद्दत गर्नेछ ।

यसैगरी मेकन्लटीको अर्को सुझाव चाहिँ पार्टनरसँग विवादमा पर्दा आफ्नो आवाजको स्तर र बोल्ने शैलीको पनि एकदम ख्याल राख्नुपर्ने हुन्छ ।

उनी भन्छन्, “कतिपय मान्छेहरुको आँखा तर्ने बानी हुन्छ । त्यो भनेको तपाईँले अप्रत्यक्ष रुपमा अर्को व्यक्तिलाई मूर्खको संज्ञा दिँदै अझ आक्रामक बनाउन खोजे बराबर हो । यस्तो बेलामा आफूलाई सहन नसक्ने अवस्थामा पुगेको महसुस भए तुरुन्तै एक्लै बसेर लामो सास फेर्ने अनि एकपटक शान्त दिमागले सोच्ने गर्नुपर्छ । यो तरिकाले वास्तवमै ठूलो काम गर्छ ।”

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ११ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।