Logo

समाचार

विज्ञहरु भन्छन्- गुणस्तरहीन खाने तेलले ब्लडक्यानसरकाे जाेखिमसमेत निम्त्याउँछ !



काठमाडौं । सबैको भान्सामा दैनिक प्रयोग हुनेमध्ये एक अत्यावश्यकीय वस्तु हो, खाने तेल । हामी यसलाई आवश्यक्ता पूर्ति गर्न लागि मात्र प्रयोग गर्दैनौं, हामीले आफ्नो स्वास्थ्यको ख्यालै नगरी जिब्रोको क्षणिक स्वादका लागि अत्यधिक प्रयोग गर्छौं । फलस्वरुप हामीले दीर्घकालीन रोगहरु निम्त्याइरहेका हुन्छौं भने गुणस्तरको बारेमा त झन् सोच्नसम्म भयाउँदैनौं । कम प्रयोग गर्न उपभोक्तालाई र गुणस्तरको विषयमा सवारोकारवालाई विज्ञहरुले बारम्बार सुझाए पनि सबैले त्यसलाई नजरन्दाज गर्ने गरेको पाइन्छ ।

गुणस्तरहीन, त्यसामाथि पनि विभिन्न बहानामा गरिएको चर्को मूल्यमा तेल खरिद गर्नु आम सर्वसाधारणको बाध्यता हो । खाने तेलको अचाक्ली मूल्य वृद्धिले नै सबैको ढाड सेकिएपछि त झन् अहिले यसको गुणस्तरमा कसैको ध्यान पुग्न असम्भव जस्तो भएको छ । भान्सामा दैनिक प्रयोग हुने खाने तेल राम्रो वा नराम्रो भनी छुट्याउन कठिन भएका कारण पनि गुणस्तरहीन वा जुन पायो त्यही खाने तेल प्रयोग गर्न आम उपभोक्ता बाध्य छन् ।

विज्ञहरु के भन्छन् ?

अहिले नेपाली बजारमा अनेक थारीका खाने तेल उपलब्ध छन् । विज्ञहरुका अनुसार यसमा स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रकृतिका मिश्रणहरु पनि हुन सक्छन् । तेल उत्पादक कम्पनीहरुको ध्यान गुणस्तर र जनस्वास्थ्यमा नहुँदा त्यसको शिकार आम सर्वसाधारण बनिरहेका विज्ञहरु बताउँछन् । गुणस्तरहीन तेलको प्रयोगका कारण कोलेस्टोर बढ्नेलगायतका नकरात्मक असर पर्ने त्रिवि, शिक्षण अस्पतालकी पोषणविद् डा. नानीशोभा शाक्य बताउँछिन् ।

तेल उत्पादक कम्पनीहरुको भ्रमयुक्त मार्केटिङ पोलिसीका कारण पनि आम सर्वसाधारणलाई अनेक थरीका खाने तेल प्रयोग गर्न प्रेरित गरेको उनी बताउँछिन् । ‘हिजोआज यही तेल स्वास्थ्यका लागि राम्रो, कोलेस्टोर फ्री भन्ने जस्ता कुरा उल्लेख गरेर उत्पादक कम्पनीले जसरी मार्केटिङ गर्छन्’, डा. शाक्य भन्छिन्, ‘वास्तवमा त्यो स्वास्थ्यका लागि त्यत्ति नै लादायक हुँदैन । र त्यसबाट स्वास्थ्यलाई चाहिने फाइदा हुँदैन/पुग्दैन ।’

नेपालमा बाहिरबाट कच्चा तेल आयात गरेर यहाँ प्रशोधन गरेर विक्री गर्ने गरिन्छ । प्रशोधन गर्ने क्रममा पनि सबै प्रक्रिया पुगेन भने उक्त तेलले पनि स्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताइन् ।

गुणस्तरहीन खाने तेलका कारण ब्लडक्यानसर समेतको जोखिम

गुणस्तरहीत खाने तेलका कारण रगतमा समेत असर पर्ने हेमेटोलोजिष्ट डा. निरजकुमार सिंह बताउँछन् । अखाद्य पदार्थ मिसावट तथा गुणस्तरहीन खाने तेलको प्रयोगले रगत उत्दानमा ह्रास ल्याउने, चाँडै रगत टुक्रा पर्ने, उत्पादन हुने रगत पनि असामान्य किसिमको बन्ने र त्यसले ठिकसँग शरीरमा काम नगर्ने जस्ता समस्या उत्पन्न हुने उनी बताउँछन् ।

डा. सिंहका अनुसार गुणस्तरहीन तेलको सेवनले ब्लड क्यानसरसम्मको जोखिम समेत निम्तिन सक्छ । ‘यस्ता चिल्लो पदार्थको सेवनले ब्लड क्यासरको जोखिम बढाउँछ’, उनले भने, ‘तर मुख्य कुरा कस्ता अखाद्यय वस्तु मिसाइएको हो वा कुन मापदण्ड नपुगेको हो त्यसमै निर्भर हुन्छ ।’

‘पहिलो कुरा त के कारण गुणस्तरहीन भयो र कस्तो अखाद्य वस्तुको मिसावट हुन्छ भन्नेमा भर पर्छ’, डा. सिंहले भने, ‘सामान्यतया खानका लागि प्रयोग गरिने जुनसुकै तेलले पनि हाम्रो रगत उत्पादनमा कमी ल्याउने, रगत चाँडै टुक्रा पर्ने, शरीरमा उत्पादन भएका रगत पनि असामान्य किसिमको हुने र त्यसले ठिकसँग काम नगर्ने जस्ता समस्या देखिन्छ ।’

डा. सिंहका अनुसार गुणस्तरहीन तेलको सेवनले ब्लड क्यानसरसम्मको जोखिम समेत निम्तिन सक्छ । ‘यस्ता चिल्लो पदार्थको सेवनले ब्लड क्यासरको जोखिम बढाउँछ’, उनले भने, ‘तर मुख्य कुरा कस्ता अखाद्यय वस्तु मिसाइएको हो वा कुन मापदण्ड नपुगेको हो त्यसमै निर्भर हुन्छ ।’

बजारमा बेला बेला गुणस्तरहीन र खान आयोग्य तेलहरु फेला पर्ने गरेका छन् । त्रिवेणी ग्रुपको सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएपछि विगतमा विक्री वितरणमा रोक लगाइएको उदाहरण हामीसामू छर्लंग छ । त्रिवेणी ग्रुपको बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको थियो ।

यसैगरी कोरोना महामारीका बीचमा महोत्तरीको गौशाला नगरपालिकाले राहतमा वितरण गरिएको खाने तेल खाँदा दर्जनौं विरामी परेका थिए । उक्त गुणस्तरहीन तेल खाएपछि दुई दर्जन भन्दा बढी महिला बालबालिका विरामी परेका थिए ।

तेलको विकल्प !

पकाउनको लागि हामी तेलको प्रयोग गरिएपनि अन्य विकल्पमा एक प्रकारको बोसो युक्त पदार्थ ओमेगा ३ फ्याट्टी एसिड प्रयोग गर्न सकिन्छ । यसले शरीरमा हर्मोन उत्पादनका साथसाथै शारीरिक तथा मानसिक विकासमा समेत मद्दत गर्ने गर्छ । यसका धेरै फाइदा र कार्यहरू छन् ।

पोषणविद डा. शाक्यका अनुसार शाकाहारी वा मांसाहारी जुनसुकै स्रोतबाट पनि ओमेगा ३ फ्याट्टी एसिड प्राप्त गर्न सकिन्छ । ओखर, बदाम, अलैची, हरियो सिमी, ब्रोकोली जस्ता फलहरूमा प्रशस्त मात्रामा ओमेगा ३ पाइन्छ । ओमेगा ३ युक्त फलफूल एवं तरकारीलाई पकाउँदा यसले झनै फाइदा गर्ने र मुटुलाई स्वास्थ्य राख्ने डा. शाक्य बताउँछिन् ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ५ : ५८ बजे

1.335k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।