Logo

हेलम्बुका बाढी प्रभावितलाई जस्तापाता सहयोग



सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो । 

गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेका छन् । जस्तापाता प्रभावित घरधुरीलाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताए ।

संस्थाले पालिकालाई पहिलो चरणको कोरोनादेखि हालसम्म खाद्यान्न, स्वास्थ्य सामग्री, रोजगारी सिर्जना, जस्तापाता गरेर रु २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मूल्याङ्कन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिएका छन् । संस्थाले पालिकासँगको समन्वयमा लैङ्गिक तथा परिवार सबलीकरण परियोजनामार्फत वडा नं ३ र ७ का १३० घरधुरीलाई आर्थिक सशक्तीकरण र पालिकाभर लैङ्गिक हिंसाविरुद्ध जनचेतना र सहजीकरणको काम गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।