Logo

भारतमा सञ्चारमाध्यमको कार्यालयमा सरकारले हान्यो छापा



नयाँ दिल्ली
भारतको प्रमुख मिडिया समूह दैनिक भास्करको कार्यालयहरूमा आयकर विभागले छापा हानेको छ । दैनिक भास्कर हिन्दीको प्रमुख अखबारमध्ये एक हो ।

सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सिबिडिटी) का प्रवक्ता सुरभि आहलुवालियाले भास्करको कार्यालयमा आयकर विभागले छापा हानेको पुष्टि गरेको छ ।

यद्यपि भास्करको कार्यालयमा छापा हानिएको कारणबारे उनले बताएका छैनन् ।

छापामारीबारे केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले एजेन्सी आफ्नो काम गरिरहेको र यसमा सरकारको हस्तक्षेप नरहेको बताएका छन् ।

आयकर विभागको टोलीले दैनिक भास्करको विभिन्न राज्यस्थि कार्यालयमा पनि छापा हानेको बताइएको छ ।

भास्करको भोपालस्थि मुख्यालय र प्रकाशकको घरमा समेत आयकर विभागको टोलीले छापामारी गरेको छ ।
दैनिक भास्कारका कर्मचारीहरूका अनुसार उनीहरूका मोबाइल नियन्त्रणमा लिइएको छ ।

छापामारीका कारणबारे केही नखोलाइएको दैनिक भास्करका सम्पादक लक्ष्मीप्रसाद पन्तले बताएका छन् ।

दैनिक भास्करले आफ्नो वेबसाइटमा एक रिपोर्ट प्रकाशित गरेर सत्य पत्रकारिकताबाट सरकार डराएको बताएको छ ।

गंगा नदीमा शव बगाइनुका साथै कोरोनाका कारण मृत्यु हुनेको यथार्थ तथ्यांक सार्वजनिक गरेकोले सरकार अंकुश लगाउन खोजेको उसले जनाएको छ ।

सम्पादक पन्तले सत्य खबर प्रकाशित गर्दा सरकारलाई असहज भएपछि छापामारीको बहानामा दुःख दिन खोजिएको बताए ।

दैनिक भास्करका साथै भारत समाचारमा पनि छापा हानिएको छ ।

उत्तर प्रदेशबाट सञ्चालित समाचार च्यानल भारत समाचार र सम्पादक ब्रजेश मिश्राको घरमा पनि आयकर विभागले छापा हानेको छ ।

सञ्चार माध्यममा सरकारले छापामारी गरेपछि त्यहाँका विपक्षी दलहरूले आपत्ति जनाएको छ ।

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ८ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।