अनलाइनपाना डटकमका प्रबन्ध सम्पादक तुलसी बास्कोटा सम्मानित भएका छन् । जयकिशन बस्नेत फिल्मस् प्रालीले बिहीबार बास्कोटालाई सम्मान गरेको हो ।
बास्कोटाले नेपाली चलचित्र क्षेत्रमा लेखन, सम्पादन, निर्देशन तथा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै बास्कोटालाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
जयकिशन बस्नेत फिल्मस् प्रालिका सञ्चालक जयकिशन बस्नेतले बिहीबार एक कार्यक्रमको आयोजना गरि बास्कोटालाई सम्मान गरेको हो । अभिनेता जय किशन बस्नेतले बाँस्कोटालाई सम्मान स्वरुप प्रदान गरिएको नगद रु. २१ हजार अमेरिकामा रहेका हेम थापाले सौजन्य स्वरुप दिएको बताए ।
उक्त कार्यक्रममा आयोजक संस्थाको तर्फबाट आफ्नो भनाइ राख्दै निर्देशकसमेत रहेका अभिनेता बस्नेतले शारीरिक अपांगताका बाबजुद पनि बास्कोटाले समाजमा परिवर्तनका लागि दिएको योगदानले आफू प्रभावित भएको बताएका हुन् ।
उक्त कार्यक्रममा बस्नेतकी छोरीसमेत रहेकी नायिका जाहनवी बस्नेतले चलचित्रकर्मी बास्कोटाबाट समाजले धेरै कुरा सिक्नसक्ने बताइन् । उनले भनिन्, “समाजका हरेक व्यक्तिहरुले बास्कोटाबाट धेरै कुराहरु सिक्न सक्छन् । आफ्नो शारीरिक अपांगतका बाबजुद पनि उदाहरणीय कार्य गर्नु भएको छ । उहाँको क्षमताबाट जोकोही पनि आकर्षित हुनसक्छ । हामीले यतिबेला यो सम्मानका लागि उहाँलाई योग्य ठानेका छौं ।”
बास्कोटाले विभिन्न नाटकहरुको लेखन, निर्देशनका साथै अभिनयलाई एकसाथ अगाडि बढाउँदै गर्दा अस्तित्व नामक टेलिचलचित्रबाट पर्दाको निर्देशन सुरु गरेको थिए । लिम्बु भाषाको चलचित्र लुङ्मा तुकिल्लेमा सहायक निर्देशक बनेको बास्कोटाले ‘अपराधी को हो ?’ चलचित्रमा मुख्य सहायक निर्देशनको भूमिका खेलेका थिए भने खरानी नामक चलचित्रबाट निर्देशकको रुपमा काम गरेका थिए ।
‘उन्नती’ र ‘सुक्का मानो’ चलचित्र निर्देशन गरेका बास्कोटा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया