Logo

अन्तर्राष्ट्रिय

तालिबानको एक वर्ष कस्तो रह्यो ?



काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन् । एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ । यहाँ अहिले लहरै राखिएका तालिबानका सेता झन्डाहरू फहराउँछन् र पुराना प्रसिद्ध मानिसहरूका अनुहार देखिने बोर्डहरू अरू नै रङ्गले ढाकिएका छन् ।

तालिबानले सत्ता पल्टाएको यो देशमा अरू के के परिवर्तन भएका छन् ?

काबुलः महिलाको जागिर पुरुषलाई दिन भनिन्छ
सन्देशहरू चकित बनाउने किसिमका छन् । “उनीहरूले मेरो जागिर भाइलाई दिन भने,” एक महिलाले सन्देश आदानप्रदान गर्ने माध्यममा लेखिन् ।

“हामीले अनुभव र शिक्षाले आफ्नो पद हासिल गरेका हौँ। हामीले यस्तो स्वीकार गर्नु भनेको आफैँलाई धोका दिनु हो,” अर्की महिलाले घोषणा गरिन् । म अर्थ मन्त्रालयका केही पूर्व वरिष्ठ अधिकारीहरूसँग बसिरहेकी छु । उनीहरूले यी सन्देशहरू मलाई देखाइरहेका छन् ।

उनीहरू गत वर्ष तालिबानले सत्ता हातमा लिएपछि जागिरमा प्रतिबन्ध लगाएर घर पठाइएका ६० जना महिलाहरूमध्येका हुन् । जसमध्ये अधिकांश अफगानिस्तानको राजश्व निर्देशनालयमा कार्यरत थिए ।

आफूहरूलाई जागिरबाट निकालिएपछि जागिरमा आवेदनका लागि आफ्ना पुरुष आफन्तको व्यक्तिगत विवरण पठाउन भनिएको उनीहरू बताउँछन् ।

“यो मेरो जागिर हो। यो जागिर पाउन र स्नातकोत्तरको उपाधिका लागि मैले १७ वर्ष ठूलो कठिनाइका साथ काम गरेकी छु। अहिले त्यो सबै शून्यमा फर्किएको छ,” आफ्नो परिचय नखुलाउन अनुरोध गर्दै उनले भनिन् ।

हामी अफगानिस्तान बाहिर रहेकी उक्त निर्देशनालयकी पूर्व निर्देशक अमिना अहमदीसँग टेलिफोनमा जोडियौँ । उनी अफगानिस्तान छाडेर बाहिरिन सफल भए पनि त्यो समाधान थिएन ।

“हामीले हाम्रो पहिचान गुमाइरहेका छौँ । हामीले यसलाई कायम राख्न सक्ने आफ्नो देशमा मात्रै हो,“ उनी पछुताउँछिन् । यो समूहले एउटा ठूलो परिचय पाएको छ । ’विमिन लिडर्स अफ अफगानिस्तान’ अर्थात् अफगानिस्तानका महिला नेतृहरू । यो परिचयले उनीहरूलाई शक्ति दिएको छ र उनीहरू आफ्नो जागिर फिर्ता चाहन्छन् ।

उनीहरू तिनै महिला हुन् जसले अफगानिस्तानले दुई दशकसम्म अन्तर्राष्ट्रिय संलग्नता बढाउँदा शिक्षा र रोजगारीको अवसर हात पारेका थिए । तालिबानले अफगानिस्तानमा अझै महिलाहरूले काम गरिरहेको बताएको छ । तर काम गर्ने अधिकांश स्वास्थ्य कर्मचारी, शिक्षाका कर्मचारी र सुरक्षाकर्मी छन्, जुन हामीले विमानस्थलमै देख्यौँ । कुनै समय अफगानिस्तानको सरकारी जागिरमा एक तिहाइ हिस्सा ओगटेका महिलाहरूलाई अझै पनि उनीहरूको तलबको केही मात्रा दिइरहेको तालिबानको दाबी छ ।

एक पूर्व कर्मचारीले आफूले लगाएको हिजावले पूरा टाउको नढाकिएको भन्दै तालिबानका गार्डले सडकमा रोकेको घटना सुनाइन् । “हिजाव भन्दा तिमीहरूले सुल्झाउनुपर्ने महत्त्वपूर्ण अरू समस्याहरू छन्,” आफ्नो अधिकारका लागि लड्न प्रतिबद्ध ती महिलाले प्रतिवाद गरिन् ।

ग्रामीण भेगमा भोकमरीको त्रास
अफगानिस्तानको दुर्गम ग्रामीण उच्च भेगमा गहुँका बालाहरू झुलिरहेको दृश्य रमणीय देखिन्छ। यसमा १८ वर्षका नुर मोहम्मद र २५ वर्षका अहमद हँसिया चलाइरहेका छन् ।
“खडेरीका कारण यो वर्ष गहुँ कम फल्यो,” कलिलो अनुहार ढाकेको पसिना पुछ्दै नुरले सुनाए । हाम्रो पछाडि टाढा टाढासम्म गहुँ खेत फैलिएको छ। आफ्नो जीवनको महत्त्वपूर्ण उमेरका यी दुई युवाहरूले यहाँ दैनिक दुई डलर ज्यालामा १० दिनदेखि निरन्तर काम गरिरहेका छन् ।

“म इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको थिएँ । तर परिवारलाई सहयोग गर्न पढाइ बीचैमा छाड्नुप¥यो,“ नुर भन्छन् । उनको पश्चात्ताप अनुहारमै झल्किएको छ ।

अहमदको कथा उस्तै पीडादायक छ । “मैले इरान जानका निम्ति आफूसँग भएको मोटरसाइकल पनि बेचेँ तर त्यहाँ काम नै पाइएन,” उनले भने । छिमेकी इरानमा मौसमी काम अफगानिस्तानको यो गरिब गाउँका मानिसहरूका लागि एउटा समाधान थियो। तर इरानमा पनि काम पाइन छाडेको छ । “हामी तालिबान दाजुभाइहरूलाई स्वागत गर्छौँ । तर हामीलाई यस्तो सरकार चाहिएको छ जसले अवसर देओस्,” नुरले भने ।

हामीले त्यस दिन घोर प्रान्तमा तालिबानका गभर्नर अहमद साह दिन दोस्तसँग पनि कुरा ग¥यौँ । तालिबान युद्धमा छाया सरकारका उपगभर्नर समेत रहेका उनले गरिबी, सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू राम्रोसँग सञ्चालन नभएको दुःख सुनाए ।

युद्ध समाप्तिसँगै यहाँ धेरै सहायता निकायहरूले काम गरिरहेका छन् । यो वर्षको सुरुमा घोरका दुई वटा दुर्गम जिल्लाहरूमा भोकमरी देखिएको थियो ।

तर गभर्नर दिन दोस्तका लागि युद्ध अझै सकिएको छैन। आफूलाई अमेरिकी सेनाले बन्दी बनाएको र यातना दिएको उनी बताउँछन् । “हामीलाई थप पीडा नदेऊ । हामीलाई पश्चिमाको सहयोग पनि चाहिँदैन,” उनले भने ।

पश्चिमाहरूले हस्तक्षेप गरिरहेको उनको गुनासो छ । उनको समूहका सदस्यहरूसँगै हामीले विद्यालय र कुपोषण क्लिनिकहरूको पनि भ्रमण ग¥यौँ । विश्वविद्यालय शिक्षा लिएका तालिबानका युवा स्वास्थ्य निर्देशक अब्दुल सतार मापक अफगानिस्तानलाई थप सहायता चाहिएको र त्यसलाई राजनीतिसँग जोड्न नहुने व्यवहारिक कुरा गर्छन् ।

राम्रो विद्यार्थी कक्षा बाहिरै
अठार वर्षकी सोहालिया निकै उत्साहित छन् । म उनलाई महिलाहरूले मात्र किनमेल गर्ने बजारको अँध्यारो भुईँतलासम्म पछ्याउँछु । पहिले कोभिड र पछि तालिबानले बन्द गराएको यो बजार पहिलो पटक खुलेको हो । अझै तयार भई नसकेको सिसाले ढाकिएको उनको पारिवारिक वस्त्रालयमा हामी पुग्छौँ ।

“यो पसल १० वर्ष अघि मेरी दिदी १८ वर्षको हुँदा सुरु भएको हो,” परम्परागत कुची पहिचान सिलाउने हजुरआमा र आमाकै पालादेखिको इतिहाससँगै उनले सुनाइन् । उनी दिदीले इन्टरनेट क्लब र रेस्टुराँ पनि खोलेकी थिइन् ।

महिलाहरूका लागि मात्रै तोकिएको यो ठाउँमा निकै चहलपहल छ । यो अँध्यारो ठाउँ अधिकांश समय घरमै बिताएका धेरै महिलाहरूका लागि उज्यालो लाग्छ । सोहालियाको अर्को पनि कथा छ ।

“तालिबानले माध्यमिक विद्यालय बन्द गरिदियो,” उनले सुनाइन् । “म कक्षा १२ मा पुगेकी छु । अब मैले यो उत्तीर्ण गरिनँ भने विश्वविद्यालय पढ्न पाउँदिन ।”

तालिबानका यथास्थितिवादी धर्मगुरुहरूको आदेशमा अधिकांश माध्यमिक विद्यालयहरू बन्द गरिएका छन् । कतिपय तालिबानकै नेताहरूले पनि विद्यालय खोल्नुपर्ने माग गरिरहेका छन् । उनी आफ्नो देश छोडेर अर्को देश जान पनि चाहँदिनन्। तर एक वर्षसम्म विद्यालय जान नपाउँदा उनलाई पीडा बोध भएको छ ।

“म मात्रै एक्लै छैन । अफगानिस्तानका सबै छात्राहरू छन्,” उनको गला अवरुद्ध भयो र आँखाबाट आँसु चुहिए ।

“म सबैभन्दा राम्रो पढ्ने विद्यार्थी थिएँ ।”

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ४ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।