Logo

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन फेला



नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट देखिनेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अब ‘कप्पा’ भेरियन्ट पनि देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालमा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको पुष्टि गरेका छन् ।

उनले २०७८ जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्ष्टिच्यू अफ जिनोमिक्स तथा इन्ट्रगेटिभ बायोलोजीमा सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिए ।

डा. अधिकारीका अनुसार तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको छ । जसलाई एवाई.वन नाम दिइएको छ । 

यी सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा (बी.१.१.७ ) र डेल्टा भेरियन्ट (बी १.६.१.७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टी भएको छ ।

उनले नयाँ भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने बताए ।

विभिन्न अध्ययनबाट नयाँ भेरियन्टहरु छिटै सर्ने भएकोले संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउनुपर्ने उनको जिकिर छ । 

डा. अधिकारीले मानिसले संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको बताएका छन् ।

 

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ६ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।