Logo

नाडामा चुनावी सरगर्मी, नेतृत्वमा थापा र चौधरीको उम्मेदवारी घोषणा



अटोमोबाइल्स व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालमा चुनावी सरगर्मी सुरु भएको छ । आउँदो भदौ अन्तिम साता अधिवेशन हुने मिति तय भएपछि नयाँ नेतृत्वको लागि दौडधुप चलेको छ । 

नयाँ नेतृत्व लिने होडमा ध्रुब बहादुर थापा र करण चौधरी आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । थापा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (वाडा) का पूर्व अध्यक्ष हुन् भने चौधरी बर्तमा उपाध्यक्ष रहेका छन् । नाडामा दुबै जनालाई शसक्त उम्मेदवारको रुपमा हेरिएको छ यद्यपी पूर्व अध्यक्षहरुले कसलाई कसरी समर्थन गर्छन त्यसले अर्थ राख्ने नाडाकै एक सदस्यले बताए । 
नेतृत्वका आकांक्षी रहेका थापा र चौधरीले उम्मेदवारी मात्र होइन प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । 

नाडा सबै अटो व्यवसायीको साझा संस्था भएपनि सिमित व्यवसायीले कब्जामा लिएको थापाको दावी छ । यसलाई सबैले अपनत्व लिनसक्ने बनाउन र खराब पक्षलाई हटाउन आफुले उम्मेदवारी घोषण गरेको थापाले बताए । उनले विधान संशोधनलाई पहिलो प्रथमितामा राखेका छन् ।

त्यस्तै चौधरीले पनि प्रदेश संरचनालाई व्यवस्थित र बलियो बनाएर नाडालाई संस्थागत रुपमा अझ दर्बिलो संस्थाका रुपमा विकास गर्न आफूले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको बताए । उनले कोरोनाले थलिएको अटोमोवाइल्स व्यवसायको पुनरुत्थानमा सरकार र व्यवसायीबिच समन्वय गर्दै अटो व्यवसायमा नयाँ आकर्षण र नयाँ उत्साह ल्याउन लागिपर्ने बताए । 

व्यवसायिक हिसावले थापा फोर्स गाडीका लागि नेपालको इम्पोर्टर तथा डिष्ट्रिव्युटर्स हुन् भने चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक छन् ।  

 

प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार  १२ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।