Logo

प्राधिकरणमा कुलमानका लागि बाटो छोड्न हितेन्द्र तयार



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङका लागि बाटो छोड्ने संकेत गरेका छन् । आफुलाई सरकारले सम्मानजनक विकल्प दिए कुलमानलाई प्राधिकरणमा ल्याइएपनि कुनै आपत्ति नहुने उनले प्रस्ट पारेका छन् । 

उनले राजीनामा दिनु ठूलो कुरा नभएको भन्दै आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिएका छन् । प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको उनको दावी छ तर कामको प्रचार प्रसार नगरेका कारण काम नगरेको जस्तो देखिएको उनले बताए । 

शाक्यले सरकारले राजीनामाका लागि कुनै दवाव नदिएको दावी समेत गरे । आज शाक्यले पत्रकार सम्मेलन गर्दै भने– ‘सरकारले दोष देखाएर होइन, अर्को ठाउँमा तपाईंको आवश्यकता छ भनेर लैजान्छ भने त्यहाँ जान तयार छु ।’ शाक्य प्राधिकरणमा नियुक्त भएदेखिनै सरकारमाथि सामाजिक संजाल प्रयोगकर्ताहरुले चर्को गालि गर्दै आएका थिए । कुलमान नै प्राधिकरणमा दोहोरिनु पर्ने आवाज उठ्दै आएको थियो । 

अव सरकारले कुलमानलाई नै प्राधिकरणको नेतृत्व दिने तयारी गरेपछि आम सर्वसाधारणमा पनि उत्साह छाएको छ । तर राजनीतिक रुपमा विपक्षी भएको एमालेको केपी ओली समुहले भने विरोध जनाईसकेको छ । 

प्राधिकरणमा कुलमानको उदय

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले २०७३ सालको असोज २९ गत कुलमानलाई प्राधिकरणमा ल्याएका थिए । घिसिङको नेतृत्वमा प्राधिकरण नेपाललाई लोडसेडिङमुक्त गर्न सफल भएको थियो । 

गत वर्षको भदौ २८ गते कुलमानको चार वर्षे कार्यकाल सकिएको थियो । धेरैजसो सामाजिक सत्तजाल प्रयोगकर्ताहरु उनको पक्षमा रहेर घिसिङको नेतृत्व दोहोर्‍याउनु पर्ने अभिव्यक्ति दिएका थिए । तर केपी ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्त गरेन ।

ओलीले प्रतिनिधिसभा भंग गरेपछि उर्जामन्त्री बनेका टोप बहादुर रायमाझीलाई पनि धेरैले चासो दिएका थिए । तर रायमाझीले ठाडो जवाफ दिदै बरु लोडसेडिङको नयाँ सेड्युल आउछ तर कुलमान प्राधिकरणमा आउँदैनन् भनेका थिए । तत्कालीन उर्जामन्त्री रायमाझी रायमाझीले माघ २३ गते हितेन्द्रदेव शाक्यलाई प्राधकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका थिए । 

प्राधिकरणको प्रमुख बन्नु अगाडिदेखि नै बिवादित र आलोचित शाक्यले प्राधिकरणमा राम्रो काम देखाउन नसकेको भन्दै चौतर्फी आवाज उठि रहेको छ । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो । 

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ४ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।