ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । आज मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने तयारी अन्तिम चरणमा पुगेको बताएकी हुन् ।
उनले विद्युतको घरेलु उपयोग बढी गर्नेलाई विद्युत महशुल पनि कम गर्ने तयारीसमेत गरिरहेको जानकारी दिइन् । उनले भनिन्– ‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यसको तयारी गरेकी छु मैले ।’
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।
प्रतिक्रिया