Logo

कृषि मन्त्रालयमा न मन्त्री, न सचिव !



प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वमा बनेको गठबन्धन सरकारको मन्त्रीपरिषद विस्तार नहुँदा धेरैवटा मन्त्रालयले मन्त्री पाएका छैनन् । नयाँ सरकार गठन भएको तीन हप्ता वितिसक्दा पनि विभागीय मन्त्री नपाउँदा मन्त्रालयका कार्यक्रमहरु त्यसै थन्किएका छन् । मन्त्री नभएको मन्त्रालयमा सचिवले जेनतेन दैनिक क्रियाकलाप गरिरहेका छन् । सचिव नै नभएको मन्त्रालयमा त्यो काम पनि ठप्प छ ।

अहिले यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा समस्या छ । मन्त्रालयमा न मन्त्री छन् न सचिव नै । मन्त्रालयको कार्यसम्पादन नै रोकिएको छ भने मन्त्री नहुँदा प्रवक्ताको जिम्मेवारी पनि कसैले पाएको छैन । उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ ।

अहिले मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखा हेर्ने प्रमुखहरु पनि छैनन् । मन्त्रालयदेखि महाशाखासम्म नेतृत्वविहीन भएको अवस्था छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव तथा पशुपंछीतर्फका एक सहसचिवले अवकाश पाएपछि मन्त्रालयको कामकारवाही ठप्प छन् ।

विभागिय मन्त्री नहुँदा प्रधानमन्त्री देउवाले आफ्नै मातहतमा राखेर मन्त्रालयलाई मन्त्रिपरिषद्को कार्यालयबाट समन्वय गरी काम गरिरहेको मन्त्रालयका अधिकारीहरुले बताउने गरेका छन् । प्रधानमन्त्रीको तर्फबाट जिम्मेवारी तोकेर कसैलाईपनि मन्त्रालयमा नराखि मन्त्रिपरिषद् कार्यालयबाट पशुपन्छी सचिवमार्फत समन्वय गरिएको बताइएको छ । 

मन्त्रालयको खाद्य सुरक्षा महाशाखा, कृषि विकास महशाखा र पशु स्वास्थ्य महाशाखामा तत्काल पदपूर्ति गर्नुपर्ने आवश्यकता रहेपनि खाली भएका महाशाखाको जिम्मेवारी मन्त्रालयकै अन्य महाशाखा प्रमुखलाई दिइएको स्रोतको दावी छ । 

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ६ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।