Logo

समाचार

अहिले यी प्रदेशमा भइरहेको छ वर्षा



काठमाडौं । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण बदली र लुम्बिनी प्रदेशका पश्चिमी भेगमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राजधानी काठमाडौं उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनले मनसुन जारी रहेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको उल्लेख गरे ।

महाशाखाले जारी गरेको मनसुन बुलेटिनमा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यूनचापीय क्षेत्र अवस्थित रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  १ : ५७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।