Logo

विचार / ब्लग

कहाँको मेरो रहर, अनि कहाँको यो सहर !



अनेक रहर बोकेर सहर दौडेको एक यात्री म, अनि मेरा सपना पनि अजिबका ।

ठूला ठूला आकासै छुने गरी बनेका घरहरू, सडकमा सवारीहरुको खचाखच अनि खुद्रा पसल र अनधिकृत पार्किङका कारण मान्छे हिँड्न पनि असहज हुने फुटपाथ । जुन मेरो सुन्दर, शान्त अनि मनोराम गाउँभन्दा फरक छ, अनौठो छ, बुझेर बुझिनसक्नु छ ।

अनौठो यो सहर र मेरा सपना उस्तै–उस्तै छन्, दुवै अजिबका । बुझेर बुझ्न नसकिने । छनलाई यहाँ सबै छन् । तर फेरि छन् भनौं के चाहिँ छ र ? मेरा बा–आमाका माया, भाइबहिनी, साथीभाइ, छरछिमेकी, आफ्नौ बारीमा फलेका अन्न, ताजा तरकारी, फलफूल केही छैनन् यहाँ त ।

केही गर्नुप¥यो, केही बन्नु प¥यो भनेर निधारमा अक्षता टाँसेर निस्केको म, चाहना र रहर उस्तै छन्, जो पूरा हुने पार्खाइमा मलाई नै कुरिरहेका छन् । तर म भने यत्तिका दिनसम्म यो अनौठो सहर, अनौठो वातारवरण, अनौठो परिवेश र अझै भनौं यहाँको अनौठा मान्छेहरुको अनौठा व्यवहारसँग परिचय गर्दैमा ठिक्क छु ।

केही सपना, केही रहर अनि केही बाध्यता लिएर सहर पसेको म, मनमा छुट्टै उत्साह थियो, उमंग थियो, जोश र जाँगर पनि थियो । त्यहीँ गएर ठूलो मान्छे बनिन्छ, भन्ने सपनाको गहिरो सागरमा डुबेको एक यात्री म पनि थिएँ ।

मेरो कल्पनाको सहरभन्दा निकै ठूला अनि अग्ला घर र व्यस्त मानिसको भीडले मलाई सिकायो– यो सहर र मेरा रहर उस्तै रहेछन् । जसरी मेरा रहर इच्छा, चाहना र लगनशीलताले मात्र पूरा हुँदैनन्, उसैगरी यो सहरमा रहन, बाँच्न र अगाडि बढ्न त धन–सम्पत्ति नै चाहिँदो रहैछ । यो जोसँग छ, उसँगै सबै छ । तर जोसँग छैन उसँग केही छैन ।

रहर र सपना पूरा गर्नु त कहाँ हो कहाँ, ज्यान पाल्नसम्म धौधौ पर्ने आखिर यो कसको सहर ? म भन्छु– यो सीर्फ ती नै का सहर हो, जोसँग सिंहदबार र बालुवाटारसम्मको पहुँच छ, जोसँग ठूलाठूला महल छ, जसले रुपैयाँमा होइन, डलरमा आय आर्जन गर्छ । गाउँमा कहिले छिमेकीको घर, कहिले साथीभाइको घर त कहिले भिर पाखातिर कुद्ने मलाई यो सहर पिँजडा जस्तो लाग्नु अस्वभाविक पनि त होइन !

गाउँमा जस्तो आफैले उत्पादन गरेको धान, चामल, तेल, खुर्सानी, प्याज सकिँदा अ‍ैंचो–पैंचो गर्न यहाँ कहाँ पाइँदो रै’छ र ! मेरो रहरको यो सहरमा त मानवता भन्ने चिजको उहिल्यै हत्या गरिसकिएको होला सायद !

बेमौसमी फसलैफसलको पसलजस्तो यो सहर । अनगिन्ती सपनाहरुलाई उडाइदिने शिकारी बाजजस्तो यो सहर । तर जीवनलाई नयाँ मोडमा पुर्‍याउन यहीँ संघर्ष गर्नैपर्ने मेरो यो कहर !

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  ६ : २१ बजे