Logo

समाचार

बडादसैँमा सडक सुनसान



काठमाडौं। नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ ।

सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छ । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन । बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ। शक्तिपीठमा आज बलिसहित विशेष पूजाआराधना गरिने भएकाले पनि नवरात्रका अरु दिनभन्दा आज बढी भीड देखिएको हो ।

यसैगरी उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ ।

यी देवी मन्दिरमा बलिसहित आजका दिन विशेष पूजा हुने गर्छ ।नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेँङ्गुको त्रास बढेको छ । यसवर्ष डेंङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।

वर्षासमेत नरोकिएको र जमेको पानीमा डेङ्गु फैल्याउने लामखुट्टटे पाइने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको हो । बडा दसैँमा खानपानमा पनि सतर्कता अपनाउनुपर्ने यस क्षेत्रका विज्ञको अनुरोध छ ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  ६ : १९ बजे