Logo

रोजगार

सत्ता साझेदार दलको बैठक बालुवाटारमा शुरू



काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा शुरू भएको छ ।

बैठकले ५ दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ ।

प्रतिनिधि सभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभा तर्फको पनि अन्तिम रूप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटबारे प्रतिनिधिसभा तर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उनले बताए । मंगलवारको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ ।

यस सम्बन्धमा छलफल गर्न सोमवार पनि रातिसम्म ५ दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो ।

बैठकलाई निष्कर्षमा पुर्‍याउन मंगलवार बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७९ मंगलबार  ६ : ०८ बजे