Logo

समाचार

तमान गाउँमा जीवितै कटुवाल र मुखिया प्रथा



ढोरपाटन । बागलुङका ग्रामीण भेगमा १ दशक अगाडिसम्म कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे ।

जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो ।

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।
 
अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन् । गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको ५ वर्ष भएको रुपलालको भनाइ छ । ४ वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रुपलाल फेरि दोहोरिएका छन् ।

उनको काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो । रुपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेलाई सूचना पुर्‍याउने काम गर्दै आएको बताउँछन् । गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिनका लागि अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरू सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभामा सहभागी हुने गरेका उनको भनाइ छ ।

‘यो चलन त परम्परादेखि चल्दै आएको हो, गाउँलेले हटाउन सकेका छैनन्, मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो,’ रुपलालले भने ।

उनले तमान गाउँमा ३७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउँछन् ।

‘गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्, सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्, उनीहरूले सूचना नपाएपछि मलाई कारबाही हुन्छ,’ रुपलालले भने, ‘त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु, गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुशी छु ।’

तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ । अहिले गाउँमा १ जना मुखिया छन् । गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्छन् । मुखिया मातहत नै कटुवालले काम गर्नुपर्ने स्थानीयको नियम छ ।

कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत १ घरबाट २०० रुपैयाँ प्राप्त गर्ने गर्छन् । ३७४ घरधुरी रहेको तमान गाउँबाट रुपलालले हरेक वर्ष ७४ हजार ८०० रुपैयाँ कमाउने गरेको बताउँछन् । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरु काम समेत गर्न सकिने उनको भनाइ छ ।
 
‘कटुवाल काम गर्न धेरै कठिन छैन, यो काम सधैं पनि हुँदैन, बेला मौकामा मात्रै हो, अरु समयमा घरबारीको काम पनि गर्छु, जनताको सेवाको रूपमा लिएको छु मैले यो कामलाई,’ उनले भने, ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखि नै हुँदै आएको हो, मैले शुरू गरेको होइन ।’

स्थानीय कृष्ण बुढाथोकीले परम्परादेखि चल्दै आएका चलनहरूलाई निरन्तरता दिनुपर्ने बताए । उनले यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको बताए ।

मुखियालाई पनि मान्छन् गाउँले

तमान गाउँमा अहिले पनि मुखिया प्रथा कायमै छ । अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर छन् । उनले तमान गाउँका ३७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहेका छन् ।

गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम घर्तीले गर्छन् ।

मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने घर्तीको भनाइ छ । परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरूले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकाल समेत सकिन थालेको बताए । आफ्नो कार्यकाल ४ वर्षको हुने उनको भनाइ छ ।

‘गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पूर्खाहरूदेखि नै चल्दै आएका हुन्, हामीहरूले त्यसको निरन्तरता दिएको हो, गाउँमा हुने विशेष कामहरू, पूजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,’ मुखिया घर्तीले भने, ‘मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडा अध्यक्ष जस्तै हो, तर मुखियाले कुनै पनि सेवा सुविधा लिँदैनन्, समाज सेवा नै हो ।’

घर्तीभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका थिए । उनको मृत्यु भएपछि घर्ती मुखियामा चुनिएका हुन् । अहिले उनले २ कार्यकाल चलाउँदै छन् । पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उनको भनाइ छ ।

स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनले बताए । ‘स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गथ्र्यो, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आएपछि उनीहरूसँग सहकार्य गरेर काम गर्छौं, उहाँहरूलाई पनि सहज, हामीलाई पनि सहज भएको छ, जसरी पनि समाज परिवर्तन गर्ने हो,’ उनले भने ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरू कायम रहनुले परम्पराको संरक्षण भएको बताए । मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उनी बताउँछन् ।

‘परम्परादेखि नै आएका यस्ता चलनहरूले हामीलाई सहज भएको छ, मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्, हामीहरूले गर्ने कतिपय कामहरू उहाँहरूले गर्दै आउनुभएको थियो, अहिले हामीहरुसँग सहकार्य गरेर काम गर्नुहुन्छ, यसले गाउँलेको सेवा पनि भएको छ, परम्पराको संरक्षण पनि,’ अध्यक्ष बुढा मगरले भने । रासस

प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार  ४ : ०५ बजे