Logo

कालापानी, लिपुलेक र लिम्पियाधुरा बिषयमा विवादास्पद भारतीय सेनाध्यक्ष नेपाल आउँदै



भारतका सेना प्रमुखले यही कात्तिक महिनामा नेपालको भ्रमण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको जंगीअड्डाले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेकोलाई नेपाल भ्रमणको लागि औपचारिक पत्र पठाउन लागेको जनाएको छ ।

नरभानेको नेपाल भ्रमण कात्तिक महिना भित्रै गराउनेगरी पत्र पठाईने नेपाली सेनाको जंगीअड्डाले बताए । पत्र पठाउनुअघि भारतीय पक्षसँग नेपाली सेनाले चाडै अनौपचारिक छलफल गर्न लागेको बताइएको छ । बिगत झै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल बोलाउन लागिएको हो ।

यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो । तर नरभानेको नेपाल भ्रमणलाई बिषेष प्रथामिकता दिएर सबै काम अघि बढाईने नेपाली सेनाले जनाएको छ ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो । त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।

त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । नरभाने नेपाल आउने सम्भावना उच्च भएपनि उनले गर्ने राजनीतिक भेट बारे टुंगो लागिनसकेको पनि बताइएको छ ।

 

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ३ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।