काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको खोजी कार्य जारी छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार सोमबार बिहानसम्म ६८ जनाको शव बाहिर निकालिएको थियो । बाँकी ४ जनाको अवस्था पत्ता लगाउन लागिपरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
खोंचमाथि अड्किएको विमानको मुख्य भाग हटाएर बिहान शव खोजिएको थियो । तर, त्यहाँ पनि नभेटिएको उद्धारमा संलग्न सुरक्षाकर्मी स्रोतले जानकारी दिएको छ । उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग गरिएको छ । शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अस्पताल स्रोतका अनुसार हालसम्म ३८ जनाको सनाखत भएको छ । ‘सनाखत नभएका व्यक्तिहरुलाई आझै काठमाडौं हेलिकप्टरबाट लगेर डीएनए परीक्षण गरिनेछ,’ अस्पताल स्रोतले बताएको छ ।
प्रतिक्रिया