Logo

दशैंँमा पनि सुनसान छन् हल



 दशैंँ आएपछि चलचित्र क्षेत्रमा खुसियाली छाउने तथा नयाँ चलचित्र प्रदर्शन गर्ने होडबाजी नै चल्थ्यो तर यस वर्ष कोरोना महामारीले चलचित्र संसार ठप्प छ । दशैँको समयमा सबैको बिदा हुने कारण चलचित्र हेर्नेको सङ्ख्या उल्लेख्य हुने गरेको पाइथ्यो । यो वर्ष भने कोरोना भाइरसले चलचित्र उद्योग ठप्प छ ।

दशैंँमा हल सञ्चालनमा आए केही हदसम्म राहत मिल्ने अपेक्षा हल सञ्चालकहरूको थियो तर लामो बिदा हुने दशैँ पनि सुनसान हुँदा हल सञ्चालकहरूको अपेक्षा निराशामा बदलिएको छ । विगत सात महिनादेखि हल सञ्चालक करोडौँ घाटा बेहोर्न बाध्य भएको नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी बताउनुुहुन्छ । उहाँले भन्नुभयो, पछिल्लो समय चलचित्र बक्स अफिस सङ्कलनमा लगातार घाटा बेहोरिरहेको चलचित्र उद्योगले दशैँ आएपछि केही राहत हुने थियो ।

आशा गरिएका चलचित्र पनि दर्शकले मन नपराएपछि चलचित्र उद्योग नै निराशामा परिणत भएको थियो । त्यसमाथि कोरोनाले सबैको जनजीवन नै ठप्प भएपछि चलचित्र उद्योग कसरी माथि उठाउने भन्ने प्रश्न आएको उहाँले बताउनुभयो । नयाँ वर्षसँगै तीज पर्वमा पनि चलचित्र प्रदर्शन हुन पाएन । चलचित्रले धेरै व्यापार गर्ने अर्को समय भनेको दशैंँ हो, उहाँले थप्नुभयो, दशैँमा हल सञ्चालक र निर्माताका लागि नै ठूलो राहत हुुन्थ्यो तर यस पटकको दशैँमा पनि चलचित्र क्षेत्र सुनसान नै हुने देखियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्नुहुन्छ, चलचित्र चल्न पनि चाडपर्व आउनुपर्छ जस्तो लाग्छ तर यो वर्ष नयाँ वर्ष, तीज, दशैँ सबै कोरोनाले खाइदियो । चलचित्र उद्योगलाई केही राहतका लागि चलचित्र विकास बोर्डले विभिन्न योजनाका साथै बीमाको पनि व्यवस्था गरेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ८ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।