Logo

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान



आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी गरेका उनलाई यस वर्ष भने कोरोनाको कहरले निकै समस्या थपिदिएको छ ।

रोजगारीका लागि बिदेसिने युवाहरू जस्तै उनमा पनि पहिला त विदेशै जाने सोच नआएको पनि होइन । विदेशमा पनि कडा मिहिनेत नगरी पैसा कमाउन सकिँदैन भन्ने साथीभाइबाट बुझेपछि उनले विदेश जाने सोच परित्याग गरी घरमै बसेर व्यावसायिक तरकारी खेती थालेका हुन् ।

बैंकबाट केही ऋण लिएर भाडाको जमिनमा सुरु गरिएको व्यवसायबाट विगतका वर्षसम्म उनले राम्रै आम्दानी पनि गर्दै आएका थिए । बारीमा हुर्केका तरकारीका बोटबिरुवा, लहरा हेरेर दंग परेका ओमप्रकाशले यसपालि पोहोरभन्दा पनि बढी आम्दानी हुने सोचेका थिए । नगरून् पनि किन ? भान्टा, काँक्रो, लौका, फर्सी, करेला, बोडीलगायत जातजातका तरकारीका बोट लहलह देखेका कारण उनमा झनै उत्साह जाग्ने गरेको थियो ।

तर, उनको हर्षित मनमा यस्तो आनन्द धेरै समय टिक्न पाएन । कोरोनाको संक्रमण नेपालमा पनि प्रवेश गरेपछि गत ११ चैतदेखि सरकारले देशैभरि करिब चार महिनासम्म गरेको लकडाउनले लटरम्मै फलेको तरकारी नबिकेपछि बारीमै कुहिँदा उनी अति पीडित बन्न पुगेका हुन् । याे खबर राजधानी दैनिकमा छ ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार