Logo

प्रमुख समाचार

महिला सहभागितालाई ५० प्रतिशत पुर्‍याउनुपर्छ : उपसभामुख




काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्ब लायक रहेको बताएकी छन् ।

झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन् ।

उनले भनिन्-‘धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ । नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्छ ।’

महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ । उनले यौनिक, अपाङगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन् । वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ ।

वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिइन् । वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  २ : ११ बजे