Logo

समाचार

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।

उनले भने “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताए ।

“त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो” उनले बताए ।

विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उहाँले बताए । पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उनले अझ बढाउने तयारीमा सरकार रहेको बताए । उनले भने, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उनले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताए । उनले भने “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्णहुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”

मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गर्दै उनले भने, “आज केबलकारको उद्घाटन गर्दैगर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुनपुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटी मौलाकालिका जानै पर्छ ।” यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटिय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ४ : १० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।