Logo

समाचार

खानेपानी पहुँच र स्वच्छता अभिवृद्धि गर्न बागमतीमा गठन भयाे महिला सञ्जाल



काठमाडौं । खानेपानी पहुँच तथा स्वच्छता अभिवृद्धिका विषयमा पैरवी गर्न बागमती प्रदेशमा महिला सञ्जाल गठन हुने भएको छ ।

ललितपुरमा बिहीबार भएको एक कार्यक्रमबाट खानेपानी उपभोक्ता महासंघका टीका उप्रेतीको संयोजकत्वमा सञ्जाल निर्माण गर्ने निर्णय भएको हो ।

सञ्जाल निर्माणको सहजीकरण गरिरहेको संस्था आवासका लागि सहयोग समूह लुमन्तीका कार्यक्रम निर्देशक उद्धवराज भट्टराईले बागमती प्रदेशका सबै जिल्लाको संस्थागत प्रतिनिधित्व हुने गरी महिला सञ्जाल निर्माण हुने जानकारी दिए ।

सञ्जालले महिला, अल्पसङ्ख्यक समुदाय, ज्येष्ठ नागरिक लगायतको खानेपानी र स्वच्छतामा पहुँच बढाउने, यसबारेको नीतिगत बहस र पैरवी गर्ने तथा सम्बन्धित कानुनहरूमा यी विषयलाई समेट्न दबाब दिने निर्देशक भट्टराईले बताए ।

युनिसेफको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा सरसफाइ तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर लोकबहादुर चौलागाईँले यो सञ्जाल निर्माण हुनु महत्त्वपूर्ण रहेको र यसले नीतिगत पैरवी गर्न रचनात्मक सहयोग गर्ने भन्दै खुसी व्यक्त गरे ।

लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धरले महिला वास सञ्जाल बन्नुको औचित्य र यसलाई कसरी अघि बढ्ने भन्नेबारे खाका पेस गरेका थिए । यसअघि लुम्बिनी प्रदेशमा यस्तो सञ्जाल निर्माण बनिसकेको छ । अब तत्कालै कोसी प्रदेशमा पनि सञ्जाल निर्माण गर्ने तयारी रहेको निर्देशक भट्टराईले बताए ।

प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार  ११ : २१ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।