Logo

प्रमुख समाचार

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना



काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी नै छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।”

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको थियाे ।

“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भने ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।

दुर्घटनामा पाइलट, काे-पाइलट, टिम सदस्य छिरिङ भाेटे, स्थानीय भविन गुरुङ, सुरेन्द्र पाैडेल घाइते भएकाे जनाइएकाे छ । उनीहरुलाई नेपाल आर्मीकाे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डाै ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तस्बिरहरु : वाङ भाेटे

प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार  २ : १४ बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।