Logo

प्रमुख समाचार

(अपडेट) संखुवासभा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते



काठमाडौं — संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएको र उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो । सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।

प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार  ४ : ३२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।