चितवन । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । बन्दका कारण राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।
शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएका बन्दकर्ताले गाडी चल्न दिएका छैनन् ।
पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिनबाट आउने सवारी साधनलाई जुगेडीसम्म आउन दिइएको छ । तर, केही बन्दकर्ता मुग्लिनमा समेत देखिएकोले सहज भने छैन ।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए । त्यसबेला उनले छाडेका सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।
परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएवपछ उनीहरुविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ । तर अहिलेसम्म पक्राउ नगरिएपछि चितवन बन्दको आह्वान गरिएको हो ।
प्रतिक्रिया