Logo

अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते



वाशिङ्टन । अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ । एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन ।

गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३.३० बजे (स्थानीय समय) अनुसार, डलासबाट २५ माईल उत्तरमा रहेको १२० भन्दा बढी खुद्रा विक्रेता भएको बाहिरी किनमेल केन्द्र, एलेन प्रिमियम आउटलेटमा गोली हानाहान भएको हो । यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कालो लुगा लगाएको, लामो राइफल बोकेको आक्रमणकारीलाई भुइँमा लडिरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

घटनास्थलबाट खिचिएको भिडियोमा सयौं उपभोक्ता सो क्षेत्र छाडेर दौडेको देखिएको छ । हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर छोपेर राखिएको देखाइएको छ । एलेन, टेक्सासका फायर चीफ जोनाथन बॉयडले नौ जना घाइतेलाई अस्पताल लगिएको बताएका छन् ।

‘अस्पताल पुर्याइएका घाइते मध्ये, दुई जनाको मृत्यु भइसकेको छ । तीन जनाको गम्भीर प्रकृतिको शल्यक्रिया भइरहेको र चार जनाको स्वास्थ्य स्थिर रहेको छ’, बोइडले बताएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  १२ : ४३ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।