काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्री एबम् नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटघाट भएको छ । अध्यक्ष तिमिल्सिना र तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।
भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरूबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।
बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।
नेपालले भियतनामबाट मसला (मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र बिरालाको खाना निर्यात गर्दै आएको छ ।
प्रतिक्रिया