Logo

समाचार

गण्डकी प्रदेशको ट्राफिक सप्ताहमा लघू सचेतनामुलक कार्यक्रम सञ्चालन



पोखरा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापी रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विविध कार्यक्रमहरु सहित सञ्चालन गरिएको साप्ताहिक जनचेतनामुलक कार्यक्रमको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियमसम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन् ।

लघू सचेतना कार्यक्रममा विभिन्न स्थानहरुमा सवारी साधन तथा पैदलयात्रीहरुलाई रोकिने र ट्राफिक नियमसम्बन्धी जानकारी मुलक पर्चा वितरण गरिने, त्यसपछी सोही कार्यक्रममा सहभागी १ जनालाई ट्राफिक नियमसम्बन्धी जानेका कुरा बोल्न लगाउने र नबुझेका कुरा ट्राफिक प्रहरीबाट प्रष्ट पारिने पोखरा महानगरपालिका जनाएको छ ।

यसका साथै सप्ताहव्यापी कार्यक्रमकै तालिका बमोजिम आज ट्राफिक प्रहरीले सवारी चालक पोशाक चेकजाँच, सवारी भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो ।

नसामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले(कार्डहरु प्रदर्शन गरिएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध परिष्कृत, प्रभावकारी कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ ।

जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरुसंग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  २ : ५२ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।