चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
भरतपुर महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे । ‘जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस्’, उनले बताए ।
कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए । महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।
महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायिक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिए । जसमध्ये १३ वटा उजुरी मेलमलिाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको बताए ।
यस्तै फिरादपत्र प्रक्रियाबाट १३ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये ६ वटाको निर्णय भइसकेको र अन्य छलफलमा रहेको उनले बताए ।
प्रतिक्रिया