सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले दिइसकेका कक्षा १२ का सबै परीक्षा रद्द भएको छ । त्यस्तै उनले यस वर्ष कक्षा १२ मा परीक्षा दिन नपाउने भएका छन् । परीक्षा हलमा नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको पाइएपछि मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानलाई परीक्षा दिनै नपाउने गरी कारबाही गरिएको जिल्ला शिक्षा समन्वय इकाइ सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।
उनले भने, ‘शनिबार परीक्षा समितिको बैठक बस्यो । परीक्षार्थी (मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान)को यो वर्षको सम्पूर्ण परीक्ष रद्द गर्न राष्ट्रिय परीक्षा बोर्डमा लेखी पठाउने निर्णय भयो । केद्राध्यक्ष, सहायक केद्राध्यक्ष र गार्ड निलम्बन ।’ घटनापछि शनिबार सबेको बैठकले कपिलाकोट माध्यामिक विद्यालय महेश्वता परीक्षा केन्द्रमा खटिएकी केद्राध्यक्ष विष्णुमाया योञ्जन, सहायक केन्द्रध्यक्ष शुक्रबहादुर माझी र गार्ड बिक्रम शाहीलाई निलम्बन गरिएको छ । आइतबार सिन्धुलीको परीक्षाको लागि नयाँ केद्राध्यक्ष खेमहरि बराल नियुक्त गरेर परीक्षा सञ्चालन गरिएको घिमिरेले अनलाइन पानालाई जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालन निर्देशिकाका आधारमा मोक्तानको यस वर्षको सबै परीक्षा रद्द गरिएको हो । जिल्ला परीक्षा समितिको बैठक बसेर गाउँपालिका अध्यक्ष मोक्तानको परीक्षा खारेज गरिएको हो ।
गएको शुक्रबार मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले ‘एसिस्टेन्ट’ परीक्षार्थी राखेर परीक्षा दिएको भेटिएको भन्दै बिरोध भएको थियो । गएको शुक्रबार कपिलाकोट माध्यामिक विद्यालय महेश्वता परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिइरहेका मरिण गाउँपालिका अध्यक्षले परीक्षामा ‘एसिस्टेन्ट’ राखेर परीक्षा दिएको आरोप लागेपछि सिन्धुलीकी सीडीओ सुनिता नेपाल, प्रहरी प्रमुख, शिक्षा समन्वय इकाइ प्रमुखलगायतको टोलीले घटनाबारे अध्ययन गरेर उततर पुस्तिका सिल गरी राष्ट्रिय परीक्षा बोर्डका शाखा कार्यालय जनकपुर पठाएको थियो । शनिबार बैठक बसेर गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले ‘एसिस्टेन्ट’ परीक्षार्थी राखेको पुष्टि भएको थियो ।
गएको शुक्रबार एकै सिम्बोल नम्बर भएका दुईवटा कपी भेट्टिएपछि घटना बाहिरिएको थियो । उनले कसलाई ‘एसिसटेन्ट’ राखेका हुन भन्नेबारे भने घिमिरेले जानकारी दिएनन् ।
याे पनि पढ्नुहाेस्
मरिण गाउँपालिका अध्यक्षले नक्कली परीक्षार्थी राखेर १२ कक्षाको परीक्षा दिएको आरोप
प्रतिक्रिया