काठमाडौं । जलबायु परिवर्तनलाई वास्ता गरिएन भने विकासका लागि गरिएका प्रयासहरुको सकारात्मक नतिजा नआउने, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
जनप्रतिनिधि, कर्मचारी, नगरबासीसहित जलबायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबिच सुरु गरिएको २ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
‘हामीले जलवायुमा असर हुने खालका काम गरेका छैनौँ । तर, असर भोगिरहेका छौँ । महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टि जस्ता समस्या जलबायु परिवर्तनका असर हुन् ।’ उनले भनिन्, ‘सवारी साधनको बढ्दो प्रयोगबाट हुने कार्वन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्छ । पेट्रोलियम उर्जाको सट्टा नविकरणीय उर्जाको प्रयोग बढाउनु पर्छ । हामी अहिले आगामी आर्थिक बर्षको नीति कार्यक्रमको चरणमा छौँ । यसलाई ध्यान दिनेछौँ ।’
वातावरणीय क्षेत्रमा जलबायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो, अति गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिम हुन् । यी जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकुलन गराउने विषयलाई सम्बोधन गर्नु पर्ने भएकोले वातावरण व्यवस्थापन विभागले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौँमा यसबाट परेको असर पहिचान गर्न, अनुकुलन र न्यूनीकरणका प्रक्रियामा समान बुझाइ विकास गर्न, कार्वन मार्केटिङ्का विषयमा छलफल गर्न यसबाट आधारभूत विषय प्राप्त हुने अपेक्षा गरिएको छ ।
‘हामीले अहिले जमिनको प्राकृतिक अवस्थालाई जसरी प्रयोग गरेका छौँ । आजको हाम्रा आचरणले भोलि हाम्रा सन्ततिले यही अवस्थामा प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्? अहिलेको पुस्ताका लागि संवेदनशील प्रश्न हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘अनुकुलन र न्युनीकरणका लागि काम गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी हो ।’
‘काठमाडौँको जनजीवनलाई सामान्य बनाउन धेरै पक्षका बिचमा सन्तुलन कायम गराउनु पर्छ । यसमध्येको एउटा विधा जलबायु परिवर्तन पनि हो । यसका असर कम गराउनु अहिलेका लागि हाम्रो प्रमुख दायित्व हो ।’ कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धरले भने, ‘देखिनेभन्दा नदेखिने समस्या धेरै छन् । नदेखिने समस्याको असर आम सर्वसाधारणलाई बुझाउन र समस्या समाधानका लागि सहभागी गराउन आवश्यक छ । यसका लागि काठमाडौँ महानगरपालिकाले काम गर्नेछ ।’
अभिमुखीकरणमा हरेक वडाबाट २ जना वडा सदस्यसहित जनप्रतिनिधि, कर्मचारी र साझेदार संघ संस्थाका प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया