Logo

अनलाइनपाना खोज

चिकित्सा आयोगको अर्को बदमासी : विपी प्रतिष्ठानमा निर्धारित कोटाभन्दा बढी विद्यार्थी भर्ना



काठमाडौं । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको अध्यापनमा आयोगले ‘साइकायट्री’ (मनोरोग) विषयमा ६ वटा सिट क्षमता भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ जना विद्यार्थी भर्नाका लागि सिफारिस गरेर अर्को बदमासी गरेको भेटिएको छ ।

विभिन्न शिक्षण संस्थाका लागि आयोगले नै कोटा तोकिदिएको हुन्छ । सरकारी र निजी दुवै शैक्षिक संस्थामा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको पढाइ हुन्छ । चिकित्सा शिक्षाअन्तर्गतका विषयहरु अध्ययन गर्न सरकारी तथा निजी शिक्षण संस्थामा निश्चित कोटा हुन्छ र कोटाभित्र अट्ने गरी उम्मेदवारको नाम निस्किए मात्रै पढ्न पाइने व्यवस्था छ । आफूले रोजेको विषय पढ्न पनि आयोगले लिएको परीक्षामा अब्बल नम्बर ल्याउनुपर्ने हुन्छ । अब्बल नम्बर ल्याउनेले रोजेर छाडेका विषय मात्र कम नम्बर ल्याउने उम्मेदवारले भर्ना भएर अध्ययन गर्न पाउने व्यवस्था छ । यो निश्चित कोटा प्रणालीकै आधारमा भएको हो । अझ सरकारी छात्रवृत्तीमा नाम निकालेर पढ्न अरुभन्दा अब्बल हुनै पर्छ ।

हेर्नुहाेस विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ताेकिएकाे ३ खुल्ला, २ सरकारी र १ विदेशी काेटा रहेकाे सूचना

निजीमा पढ्दा भने अलि धेरै खर्च तिर्नुपर्ने हुन्छ । कुनै पनि विषयमा निश्चित कोटा भएकाले कोटाभित्र नाम निकालेर पढ्न चाहनेको भीड नै हुन्छ । तर चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गतको सरकारी शिक्षण संस्था विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको मनोरोग विषयमा ६ वटा कोटा तोकेकोमा ७ जनाको भर्ना दिलाएको छ ।

स्नातकोततर तहको ‘साइकायट्री’ विषयमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्लातर्फ ३ जना, सरकारी २ जना र विदेशी १ जनाले अध्ययन गर्न पाउने गरी कोटा तोकिएको छ । तर अचम्म के छ भने तोकिएको कोटाभन्दा एकजना बढी उम्मेदवारको भर्ना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोगले नै दिलाएको छ ।

हेर्नुहाेस्, अजयबिर सिंह विदेशी कोटामा स्नातकोत्तर तहको ‘साइकायट्री’ विषयमा भर्ना भएकाे सूचना

रोल नम्बर १९१०७ तथा र्याङ्क ८८७ रहेका अजयबिर सिंह विदेशी कोटामा स्नातकोत्तर तहको ‘साइकायट्री’ विषयमा भर्ना भएका छन् । त्यस्तै १४१८९ रोल नम्बर तथा ५२६ र्याङ्कमा रहेकी मीतु महर्जन दोस्रो प्राथमिकतामा स्नातकोत्तर तहको साइकायट्री विषयमा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी छिन् । र्याङ्क ६५५ तथा १४३५९ रोल नम्बर भएका सौरभराज शर्मा पहिलो प्राथमिकतामा विपीको ‘साइकायट्री’ विषयमा भर्ना भएका छन् । त्यस्तै र्याङ्क ६५३ तथा रोल नम्बर १३६०८ भएकी रक्षा ज्ञवली पनि ‘साइकायट्री’ विषयमा स्नातकोत्तर तहमा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी छन् । र्याङ्क ६६१ त्था रोल नम्बर १३२८७ भएकी कौशिका आचार्य पनि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उही तह र विषयमा भर्ना भएकी छन् । र्याङ्क ७०४ तथा रोल नम्बर १३९३४ भएकी अर्चना पौडेल पनि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उही विषय र तहमा भर्ना भएकी छन् ।

हेर्नुहाेस् विदेशी कोटाबाहेक नै स्नातकोत्तर तहको ‘साइकायट्री’ विषयमा भर्ना भएका अरु ६ जनाकाे सूचना

यति विद्यार्थीको भर्ना हुँदा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको ‘साइकायट्री’ विषयको भर्ना कोटा पूरा हुन्छ । तर अर्का एकजना र्याङ्क ७२२ तथा रोल नम्बर १२३७५ भएका अमोलकुमार यादव पनि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमै भर्ना भएका छन् । ६ वटा कोटा तोकेको आयोगले ७ जानको भर्ना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको छ ।

निश्चित कोटामा उच्च प्रतिस्पर्धामा भर्ना हुन पाउने चिकित्सा शिक्षामा आयोगका कुन पदाधिकारीको स्वार्थ पूरा गर्न ७ जनाको भर्ना गरिएको हो भन्ने खुलेको छैन । आयोगले नै विभिन्न स्वास्थ्य संस्थाहरुलाई अध्यापनको लागि निश्चित कोटा प्रदान गरेको हुन्छ । तर आफैँले बनाएको नियमको बर्खिलाप हुने गरी आयोगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ भर्नाको काम अगाडि बढाएको छ ।

 

याे पनि पढ्नुहाेस्

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ४ : ०२ बजे

1.632k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।